
प्रहरीले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेकाहरूलाई फरक–फरक मुद्दामा म्याद थप्ने तयारी गरेको छ ।
राजावादीको उक्त प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको परिवार तथा तोडफोड र आगजनीबाट क्षति व्यहोर्नेहरूबाट जाहेरी लिएर कसुरअनुसार फरक–फरक अभियोग लगाउने तयारी भएको हो ।
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवल शमशेर राणा र कानून व्यवसायी स्वागत नेपालसहित १११ जनालाई पक्राउ गरेको थियो ।
उनीहरू घटनामा प्रत्यक्ष संलग्न भए/नभएकोबारे प्रहरीले ‘स्क्रिनिङ’ गरिरहेको छ । ‘स्क्रनिङ’पछि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, तोडफोड, आगजनी, राज्यविरुद्धको अपराधसहित मुख्य अभियोग लगाइने छ ।
पक्राउ परेकामध्ये कसलाई कुन मुद्दामा म्याद थप गर्ने भन्ने विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंसँग ६ घण्टा परामर्श गरेको छ ।
परामर्शमा सरकारी वकिल कार्यालयले प्रमाण पुष्टि हुने आधारमा टेकेर मात्रै म्याद थपका लागि ल्याउन काठमाडौं परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई आग्रह गरेका छ ।
स्वागत नेपालले आफू घटना भएको दिन तीनकुनेमा नरहेको र पीएचडीका लागि अध्ययन गरेर बसिरहेको प्रस्टीकरण दिएका छन् । प्रहरीले उनको फोनको ‘लोकेसन’ हेर्दैछ ।
मिश्र र राणाले पनि आफूहरूले प्रदर्शनकारीलाई नभड्किन पटक–पटक निर्देशन दिएको, तोडफोड र आगजनीमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका छन् ।
‘उहाँहरूले आफूहरू कार्यक्रम स्थलमा गएको तर, भड्किलो निर्देशन नदिएको बताउनुभएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामीले उहाँहरूले बोलेको भिडियोलाई संकलन गरेर प्रमाणका रूपमा पेश गर्दैछौं ।’
घटना तीनकुनेमा भएपनि काठमाडौं परिसरले नै म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ ।
बानेश्वर वृत्तको क्षेत्राधिकारमा भएको घटनालाई संवेदनशील मानेर परिसर आफैंले अनुसन्धान गर्न लागेको हो । बानेश्वर वृत्तका अनुसार पीडितलाई काठमाडौं परिसरमै जाहेरी दिन भनिएको छ ।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले घटनामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता पुष्टि हुने आधारमा टेकेर मात्रै कसुर अनुसारको म्याद थप्ने तयारी रहेको बताए ।
उनले लोकान्तरसँग भने, ‘सबैलाई एउटै मुद्दा लैजादैनौं, घटनामा कसको के संलग्नता हो, त्यो पुष्टि हुने आधारमा टेकेर मात्रै म्याद थप गर्छौं ।’
उनले पक्राउ परेकाहरूको ‘स्क्रिनिङ’ भइरहेकाले कसुर पुष्टि हुन समय लागेको अवस्थामा प्रहरी प्रतिवेदनबाटै भएपनि म्याद थप गर्न अदालत लगिने बताए ।
प्रहरीमा मृतकका दुवै पक्षबाट जाहेरी आएको छैन । तोडफोड र आगजनी भएका घरधनीले जाहेरी ल्याउने क्रम जारी रहेको अधिकारीले जानकारी दिए । उनले आगजनी, तोडफोड, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधलगायतका मुद्दा आकर्षित हुने बताए ।
‘सबैलाई सोलोडोलो मुद्दा लगेर हुँदैन, कसको के संलग्नता हो भन्ने कुरा प्रमाणले पुष्टि हुनुपर्छ,’ पोखरेलले भने, ‘आज आएका केही जाहेरी र प्रहरी प्रतिवेदनलाई आधार मानेर म्याद थप गर्न लैजान्छौं ।’
अधिकारीले पक्राउ परेका सबैलाई मुद्दा नचल्ने बताए ।
शुक्रबार भएको प्रदर्शनमा प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरीतर्फ २२ जना र प्रदशर्नकारीतर्फ ३५ जना घाइते भएका थिए । प्रदर्शनकारीले सरकारीसहित १५ वटा सवारीसाधनमा आगजनी गरेका थिए ।
९ वटा घरमा तोडफोड गरेका थिए । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका थिए ।
उनीहरूले तीनकुनेमा एउटा घर, नेकपा एकीकृत समाजवादीको कार्यालय र कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा पनि आगजनी गरेका थिए ।
कान्तिपुर टेलिभिजनको कार्यालयमा सिसा तोडफोड र अन्नपूर्ण पोस्ट दैनिकको कार्यालयमा समेत तोडफोड गरेका थिए ।