
सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गरेका छन् ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गरे ।
सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ । “रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।”
यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।