१२ साउन २०८३, मंगलबार

हिंसा भड्काउनेहरू कारबाहीको भागीदार हुनुपर्छ, कसैलाई उन्मुक्ति नहोस्

चैत १९, २०८१
काठमाडौं
हिंसा भड्काउनेहरू कारबाहीको भागीदार हुनुपर्छ, कसैलाई उन्मुक्ति नहोस्

राजसंस्था फर्काउने भन्दै राजतन्त्रका समर्थक विभिन्न समूहले यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको चौतर्फी विरोध भएको छ । पञ्चायतकालका मन्त्री नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले शुक्रबारको प्रदर्शन आयोजना गरेको थियो । 

२ जनाको ज्यान जानेगरी भएको हिंसात्मक प्रदर्शनको कथित जनकमान्डर दुर्गा प्रसाईंलाई तोकिएको थियो, जो अहिले फरार छन् । अज्ञात स्थलबाट सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले त्यो हिंसात्मक घटनाको बचाउ गरिरहेका छन् । 

राजावादीले त्यस्ता उच्छृङ्खल व्यक्तिलाई जनकमान्डर बनाएका थिए, प्रसाईं स्वयंले सुरक्षा घेरामा बसेका प्रहरीमाथि गाडी चलाउन खोजेका थिए । हिंसा भड्काउने कामको शुरूआत प्रसाईंले नै गरेका थिए, जुन नियोजित जस्तो देखिन्छ । 

प्रहरी घेरा तोड्दै प्रसाईं संसद् भवनतर्फ बढ्न खोज्दै थिए, संसद् भवनको गेटमा लगेर गाडी ठोक्काउने उनको योजना रहेको सुरक्षा संयन्त्रको आशंका छ । 

चैत १५ गते भएको त्यो हिंसात्मक प्रदर्शनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले घटनाको सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई जिम्मा लगाएको थियो । हिंसा भड्काउन उद्दत भएको भन्दै राप्रपा महामन्त्री एवं बहालवाला सांसद डा. धवलशमशेर राणासहित ५ दर्जन बढी पक्राउ परेका छन् । 

राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गरिएको भनिएको प्रदर्शन सुरक्षाकर्मीमाथि आक्रमण, व्यक्तिका घर र राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र लुटपाटमा परिणत भएको थियो । राजनीतिक प्रकृतिको भन्दा पनि समाजमा हिंसा भड्काउने उद्देश्यले प्रेरित जस्तो देखिएको थियो, शुक्रबारको प्रदर्शन । 

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १५ गतेको आन्दोलन भड्काउनमा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको भन्दै उनले उन्मुक्ति पाउन नसक्ने बताएका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते आफू अघि बढ्ने, साथ देऊ भन्दै वक्तव्यबाजी गरेपछि ठाउँ–ठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम शुरू भएको ओलीले संसद्‌मा बताए । ‘उहाँले चैत १४ गते समाज बिथोल्न लागिपरेका एक अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो’ ओलीले संसद्‌मा भनेका थिए । 

ओलीले संसद्‌मा भनेका छन्– ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’ 

प्रधानमन्त्रीले संसद्‌मा गरेको प्रतिबद्धता अनुसार तीनकुने घटनाका दोषीउपर कारबाही हुनुपर्छ । हिंसा भड्काउनेहरू कारबाहीको भागीदार हुनैपर्छ, कसैले उन्मुक्ति पाउनु हुन्न । 

कमेन्ट गर्नुहोस्