
नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एनपीएस–नेसनल कार्ड स्विच (एनपीएस–एनसिएस) र डमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को पूर्वाधार स्थापना गरिएको छ ।
काठमाडौंमा एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कम्पनीले उक्त जानकारी दिएको हो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति अनुसार एनपीएस–एनसिएस र नेपाल पे कार्डको तयारी पूरा भएको जानकारी गराए।
साथै, गभर्नरले नेपाल पे कार्डबाट कन्ट्रोल्ड इन्भाइरोमेन्टमा पीओएस र एटीएमबाट कारोबार गरी एनपीएसको पूर्वाधार तयारी भएको जानकारी दिए।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका सञ्चालक समिति र राष्ट्रिय भुक्तानी बोर्डका सदस्य, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना, कार्यकारी निर्देशक, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा पदाधिकारी, भुक्तानी प्रणाली सञ्चालकका प्रतिनिधि, भुक्तानी सेवा प्रदायकका प्रतिनिधि, एनसीएचलका सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
एनपीएस–एनसिएस तथा नेपाल पे कार्डको तयारी पूरा भएसँगै, बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी प्रणाली सञ्चालकहरू र भुक्तानी सेवा प्रदायकहरूले डमेस्टिक कार्ड स्किममा इस्युइङ र अक्वयरिङका लागि साथै अन्य कार्ड स्किमको कारोबारहरूबीच अन्तरआवद्धता कायम गर्न अब आफ्नो स्विचहरू इन्टिग्रेट गर्न सक्नेछन्।
स्विचहरू इन्टिग्रेट गर्न तथा नेपाल पे कार्ड जारी गर्ने कार्य अगाडि बढाउन उक्त कार्यक्रममा एनसिएचलसँग सिटिजन्स बैंक इन्टरनेशनल, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबि बैंक, प्रभु बैंक, साङ्ग्रिला विकास बैंक, सिद्धार्थ बैंक, लगायतका बैंक वित्तीय संस्थाहरूसँग प्रिन्सिपल मेम्बरशिपको सम्झौता पत्र आदान प्रदान समेत गरिएको थियो।
साथै, ११ वटा बैंक वित्तीय संस्थाहरूलाई मल्टिपल कार्ड स्किमहरू प्रोसेसिङ गर्न प्रदान गर्दै आएको एनसीएचएलको आफ्नो इएफटी स्विचबाटसमेत नेपाल पे कार्ड अक्वायरिङ गर्न मिल्ने गरी तयारी गरिएको छ।
नेपाल पे कार्ड अन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्थाहरू र पीएसपीहरू क्रमशः प्रिन्सिपल तथा एसोसियट मेम्बरको रुपमा आबद्ध हुन सक्नेछन् भने भुक्तानी प्रणाली सञ्चालकहरूले थर्ड पाटी पेमेन्ट प्रोसेसर (टीपीपी) को रूपमा कार्ड इकोसिस्टम निर्माण तथा विकास गर्न सक्नेछन्।