०१ असार २०८३, सोमबार
तीनकुने घटनाको स्थलगत

पत्रकार सुरेश रजक जलेको तीनकुनेको घरमा ४ दिनपछि पुग्दा खुलेका नयाँ रहस्य [भिडियोसहित]

चैत १९, २०८१
काठमाडौं
पत्रकार सुरेश रजक जलेको तीनकुनेको घरमा ४ दिनपछि पुग्दा खुलेका नयाँ रहस्य [भिडियोसहित]

काठमाडौंको तीनकुनेस्थित मुख्य सडकबाट 'राजा जनक मार्ग' छिर्नेबित्तिकै दाहिनेपट्टि परदेशी खाजा घर छ ।

सामान्य चियाखाजा पाइने उक्त खाजाघरनजिकै रहेको सुनौलो इन्द्रेणी सहकारीको भवनमा चैत १५ गते राजावादी प्रदर्शनकारीले आगजनी गरेका थिए ।

उक्त आगजनीमा परेर मृत्यु भएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकले ढुंगामुढा शुरू हुनुअघि त्यही परदेशी खाजाघरमा बसेर चिया पिएका रहेछन् ।

खाजाघरकी सञ्चालिका शशिकला राई सम्झिन्छिन्, '२ जना हुनुहुन्थ्यो । दिदी ! आज व्यापार राम्रै हुने भयो भन्नुभयो । म पनि खुशी थिएँ । सबै कुर्सी भरिभराउ थिए ।'

त्यतिबेलासम्म अराजकता शुरू भएको थिएन । चिया पिउने बेलासम्म त राईले पनि उनीहरूलाई चिनेकी थिइनन् । 'कोही पत्रकार होलान् भन्ने लाग्यो । उहाँहरू यहाँ आधा घण्टासम्म बस्नुभयो,' राईले भनिन् ।

त्यसपछि ढुंगामुढा शुरू हुन थाल्यो । रजकले एभिन्युज टेलिभिजन अंकित फ्ल्यास ज्याकेट लगाएका थिए । एउटा क्यामेरा भिरेका थिए । अर्का साथीबारे भने राईले खासै याद गरिनन् । ढुंगामुढा शुरू भएपछि उनीहरू त्यहाँबाट पैसा तिरेर निस्के ।

त्यसपछि थप अराजकता, होहल्ला र ढुंगामुढा हुन थाल्यो । खाजा घरअगाडि नै एउटा अश्रुग्यासको सेल बज्रियो । उनको आँखा भतभती पोल्न थाल्यो । उनले शटर तानिन् । उनीसँगै अरू ४/५ जना पनि त्यहीँ थुनिए ।

त्यसको केही छिनपछि कसैले शटरबाहिरबाट दिदी–दिदी भनेर बोलाउन थाल्यो । राईले चिनेकै मान्छे रहेछन् । 'त्यहाँ आगो लागेको छ, तपाईंहरू थुनिएर बस्ने ? भनेर भाइहरूले भने । त्यसपछि मौका हेरेर बाहिर निस्कियौं ।' राईले भनिन् ।

null

उनी घर पुगेकी थिइन् । अचानक ७ बजेतिर पत्रकार रजकको जलेर मृत्यु भएको खबर आयो ।

'मैले सामाजिक सञ्जाल र अनलाइन समाचारमा आएका भिडियो र फोटोहरू हेरें । ठ्याक्कै दिउँसो मलाई दिदी आज धेरै नै व्यापार हुनेभयो भन्ने मान्छेको अनुहार सम्झें । अनुहार र कपडा ठ्याक्कै उही थियो, म अवाक भएँ,' राईले भनिन् ।

हामीले राईलाई सोध्यौं, 'रजकले चिया पिइरहँदा उनको अनुहारमा केही चिन्ता, चासो या छटपटी देखिन्थ्यो कि ? अथवा, उनले फोनमा कसैसँग पटक-पटक कुरा गरेका थिए कि ?'

जवाफमा राईले भनिन्, 'त्यस्तो अस्वाभाविक केही थिएन । बारम्बार फोनमा कुरा गरिरहेको जस्तो पनि मलाई लागेन ।'

तर, खासमा ढुंगामुढा हुन शुरू भएपछि रजक हतारहतार निस्केका थिए । त्यसपछि उनी आन्दोलनकारीसँगै इन्द्रेणी सहकारीको भवनभित्र छिरेको हुनसक्ने त्यहाँ भेटिएकाहरूको अनुमान छ ।

सोही भवनको चौथो तलामा रहेको 'सुवाल ल एसोसिएट्स'का अधिवक्ता राज सुवाल भन्छन्, 'आन्दोलनकारी त्यहाँभित्र जबर्जस्ती छिरेकै बेला पत्रकार रजकजी पनि सँगसँगै भित्र जानुभएको देखिन्छ । ५/६ जना आन्दोलनकारी एकैपटक छिरेका थिए । सँगै रजकजी र क्यामेरा बोकेको अर्को एकजना पनि गएका थिए ।'

अचम्मको कुरा के भने उक्त सहकारी भवनको गेटमा ग्रीलको बार लगाइएको थियो । सिधा–सिधा छिर्न सकिने अवस्था थिएन ।

सुवालका अनुसार देब्रेपट्टि रहेको पर्खालमा चढेर पहिलो तलाको भेन्टिलेसन हुँदै प्रदर्शनकारी भवनभित्र पसेको देखिन्छ । केही भने फोरिएको सिसाबाट भित्र छिरे । रजक पनि सोही समूहमा भित्र छिरेको सुवालको अनुमान छ ।

'रजक अथेन्टिक पत्रकार नै हुनुहुन्थ्यो । ज्याकेट लगाएर जानुभएको थियो । त्यहाँ उहाँको गतिविधि खिच्ने अर्को क्यामेरा पर्सनको बारेमा किन कसैले सोधीखोजी गर्दैन ? सानो क्यामेरा बोकेर छिर्ने अर्को व्यक्ति हो ? उसलाई सोधपुछ गर्नुपर्छ । त्यो क्यामेरमा के छ भन्ने कुरा निकाल्नुपर्छ ।'

राजकुमार सुवाल

रजकको मृत्युबारे विभिन्न कोणबाट सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले चर्चा गरिरहेका छन् । तर, त्यसबारे सत्यताको नजिक भने कोही कसैले नलेखेको वा नदेखाएको सुवालको गुनासो छ ।

'अहिले सार्वजनिक भएको भिडियोमा आगजनी भएको घरबाट बाहिरिँदै गर्दा एउटा केटाले मुख छोपेको छ । सँगै अर्को केटी पनि बाहिर गएको देखिन्छ । उनीहरू जहाँबाट झरेको भिडियो छ, त्यो कसले खिच्यो ? अहिलेसम्म पहिचान भएको छैन । मलाईभन्दा बढी त त्यो भिडियो खिच्नेलाई थाहा छ,' सुवालले भने ।

जसले भिडियो खिच्यो, ऊ रजकसँगै भित्र छिरेको मान्छे भएको अनुमान सुवालले गरे । उक्त व्यक्तिलाई तत्काल छानबिनको दायरामा ल्याउनुपर्ने सुवालको भनाइ छ ।

सुवालले त्यहाँ आगो निभाएको भनेर खिचिएको भिडियो समेत शंकास्पद रहेको बताए । 'ती दुईजना झर्नुअघि मेरो अफिसभित्र छिरेर ‘राष्ट्रवादी साथीहरूले आगो निभाएको’ भनेर जारको पानी खन्याएका छन् । तर, त्यतिबेला त्यो तलामा आगो लागेकै थिएन । उनीहरू नौटंकी भिडियो बनाएर झरेका छन्,' सुवालले भने ।

रजकको मृत्युलाई थप रहस्यमयी बनाउने अर्को एउटा तथ्य पनि सुवालले खुलाए । कसैले उनलाई त्यहीँ बसेर खिच्न निरन्तर निर्देशन दिएको वा भित्र कसैले उनीमाथि आक्रमण गरेको हुनसक्ने सुवालको आशंका छ ।

'शव त भेटियो, तर शवसँग वा नजिकै फोन र क्यामेरा किन भेटिएन ? कि उनीसँग भएका डिभाइसहरू पहिल्यै कसैले खोस्यो र लग्यो कि ?' सुवालको प्रश्न छ । आफू अधिवक्ता पनि भएकाले यस्ता तथ्यहरू अदालतको बहसका क्रममा पनि पेश गर्ने उनले बताए ।

***

इन्द्रेणी सहकारीको ठ्याक्कै देब्रेपट्टि जोडिएको अर्को भवनको भुइँतलामा अरामेक्स सर्भिस सेन्टर छ । ढुंगामुढा र आगजनी शुरू भएपछि त्यहाँका कर्मचारी, पहिलो तल्लामा रहेको एउटा फाइनान्स र त्यसमाथि रहेको स्पा सेन्टरका कर्मचारी गरी ३०/३५ जना तल जम्मा भएका थिए ।

तत्काल उक्त भवनको शटर लगाइयो । अरामेक्सकी कर्मचारी संगीता भण्डारी याद गर्छिन्, 'हामीले शटर तान्यौ । भित्रबाट लक हुन्न फेरि यो । बाहिरबाट आन्दोलनकारीले खोल्न खोजे, तर हामी सबैले समातेर बसिरह्यौं । शटर खोल्न दिएनौं ।'

null

त्यसको केही समयमा त्यहाँ जम्मा भएका सबै पछाडिको गेटबाट भागे । त्यहाँ सशस्त्र प्रहरीका केही जवानहरू पनि थिए । एकजना महिला जवानको हात भाँचिएको थियो भने अर्का एक पुरुष जवान घाइते थिए ।

त्यहीँका अर्का एक कर्मचारीले लोकान्तरसँग भने, 'प्रहरी माथि गएर फायर गरेको भन्नु झूट हो । त्यसो भए तल प्रहरी किन जम्मा हुन्थे ? माथि जाने ठाउँ नै थिएन । आन्दोलनकारीसँगै प्रहरी किन भित्र पस्थ्यो र ?'

बरु उनले त्यहाँ आफूहरूसँगै बसेका एकजना घाइते जवानले फायर गर्न नसकेपछि अर्को एकजनाले घाइतेको बन्दुक समातेर हवाई फायर गरेको बताए ।

'जिन्दगीमा पहिलोपटक लडाईंको मैदानमा फसेको जस्तो लाग्यो,' उनले भने, 'हवाई फायर गरिसकेपछाडि पल्तिरको रोयल ब्यांकेटअगाडि आगो लगाउन अघि सरेका आन्दोलनकारी भागे । थप क्षति हुन पाएन ।'

रोयल ब्यांकेटबाहिर शटर थिएन, सिसाको बार थियो । बाहिरको मात्र होइन, भित्र पार्टिसन गरिएको सिसा पनि बाँकी रहेन ।

null

त्यहाँका कर्मचारीले तत्काल ढोका लगाएर पछाडिबाट निस्किन खोजे । त्यहाँ अरामेक्सका लगायत ३०/३५ जना कर्मचारी पार्किङसँगैको बारभित्र अलपत्र परेका थिए ।

ब्यांकेटका कर्मचारी रोशन केसी सम्झिन्छन्, 'हामीले तत्काल उहाँहरूलाई पर्खाल नाघ्न सघायौं । अनि अलि पछाडि गएर सुरक्षित साथ बस्यौं ।'

सँगै भएका प्रहरी जवानले हवाई फायर नगरेको भए आफ्नो ब्यांकेट अघि आगो लाग्न सक्ने सम्भावना रहेको उनले बताए ।

'धन्न हामी र हामीसँग भएका प्रहरी जवान जोगिनुभयो,' केसीले भने, 'तर, नजिकै भएको आगलागीमा पत्रकारको मृत्यु भएको भन्ने खबर हामीले सुन्यौं, त्यतिबेला साह्रै नरमाइलो लाग्यो । उहाँ त्यहाँ किन जानुभयो ? कसरी आगो लगाइयो, अनि मृत्यु भयो ? त्यसको स्पष्ट छानबिन होस् भन्ने लाग्छ ।'

हेर्नुहोस्, अधिवक्ता सुवालको भनाइ जस्ताको तस्तै :

जलेको घरमा ल फर्म रहेका वकिलको प्रश्न– 'घटना रह्यमय छ, सुरेशको भिडियो खिच्ने व्यक्ति खोज्नुपर्छ'

salt training

कमेन्ट गर्नुहोस्