२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

राजावादीको वितण्डाबारे बोलेनन् शेखर, रवि लामिछानेले किन भेटे सभामुख ?

चैत २०, २०८१
काठमाडौं
राजावादीको वितण्डाबारे बोलेनन् शेखर, रवि लामिछानेले किन भेटे सभामुख ?

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ  ।  सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
००००
चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा घाइते भएकाहरूको सरकारले निस्शुल्क उपचार गर्ने भएको छ । 

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिए ।
००००
चैत ३ गतेबाट सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम मंगलबार समापन भएको छ । 

रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कूल २९ जना उक्त तालिममा सहभागी थिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार थाइल्यान्डको बैंकक पुगेका छन् । 

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६.१५ बजे बैंकक पुगेका हुन् ।

उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधान एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे ।
००००
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा रहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो ।
००००
चैत १५ गते काठमाडौंमा राजावादी दल र समूहले मच्चाएको वितण्डाबारे दलका नेताहरू बोलिरहेका छन् । दुई जनाको ज्यान जाने गरी अराजकता मच्चाएको भन्दै विरोधका शब्द खर्चिन बाँकी राखेका छैनन् । सत्तापक्ष, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी, मधेशकेन्द्रित दल र अन्य दलका नेताले कडा शब्दमा घटनाको निन्दा र भर्त्सना गरेका छन् । 

आन्दोलनमै सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हिंसात्मक भएको कुरा स्वीकारेको छ । न्यायिक समिति बनाएर घटनाको सत्य–तथ्य बाहिर ल्याउन माग गरेको छ । तर, कांग्रेसको भावी नेतृत्वका लागि अभियान चलाइरहेका कांग्रेस नेता डा शेखर कोइराला राजावादीको वितण्डाबारे अस्वाभाविक ढंगले मौन रहँदै आएका छन् । 
००००
नेपाल कम्युनिस्ट पार्टी एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक गएपछि वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
००००
सरकारले भूकम्पबाट प्रभावित बनेको म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल सरकारको तर्फबाट राहत सामग्री पठाउने निर्णय भएको बताए ।
००००
तिनिधिसभाको हिउँदे अधिवेशनमा जम्मा २७ बैठक बसेका छन् । माघ १८ गते शुरू भइ चैत १९ गते समापन भएको अधिवेशनमा २५ दिनमा २७ बैठक बसेका हुन् ।
००००
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार थाइल्याण्डतर्फ प्रस्थान गरेकाले सिंहले कावा प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
००००
प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ ।
यही चैत १५ गतेको तीनकुनेमा आयोजित कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले नियुक्तिपत्र बुझेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईंलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
००००
प्रतिनिधिसभाको लगातार १० बैठकमा अनुपस्थित रहेका ८ जना सांसदले अनुपस्थितिको सूचना स्वीकृत गराएका छन् । प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकमा मंगलबार सभामुख देवराज घिमिरेले अनुपस्थित हुने ८ सांसदले दिएको अनुपस्थितिको सूचना पढेर सुनाएका हुन् । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३(१) मा लगातार १० बैठकमा अनुपस्थित हुने सांसदले कारण सहित सभामुखलाई निवेदन दिनुपर्छ । अनुपस्थितिको सूचना संसद बैठकले अनुमोदन गर्नुपर्छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाको लागि ध्यानाकर्षण गराएका छन् । 

उपसभापति डीपी अर्याल र केही सांसदहरूसहित मंगलबार बिहान संसद् सचिवालय पुगेका उनले आफ्नो निलम्बन गैरकानूनी र राजनीतिक प्रतिशोधपूर्ण रहेको भन्दै फुकुवा गरिदिन आग्रह गरेका हुन् । 

संसद्को विषय संसद्बाटै निरुपण होस् भन्ने आफूले चाहेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्