जिल्ला प्रशासन कार्यालय पर्साले यहाँस्थित बाल सुधारगृहमा देखिएको समस्यालाई समाधान गर्नका लागि आवश्यक पहलकदमी थालेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बाल सुधारगृहको व्यवस्थापनसम्बन्धी बैठकले बाल सुधारगृहमा भएका बेथतिलाई सुधार्नका लागि १३ बुँदे निर्णय गरेको छ ।
प्रजिअ अर्यालले बाल सुधारगृहमा देखिएका समस्यालाई सम्बोधन गर्न लागेको जानकारी दिए ।
मङ्गलबार बाल सुधारगृहमा बालकहरुले केही समय प्रदर्शन गरेर प्रजिअ अर्याल, पर्सा प्रहरी प्रमुख गौतम मिश्र लगायतका सरोकारवाला निकायसँग २२ बुँदे स–साना माग गरेर विरोध जनाएका थिए । सोही गुनासा र मागलाई सम्बोधन गर्नका लागि आज बैठक बसेको हो । बैठकले बाल सुधारगृह परिसर नजिकै रहेको डिप बोरिङबाट पाइप जडान गरी नियमित रुपमा खानेपानीको व्यवस्थापन गर्ने व्यवस्था वीरगञ्ज महानगरपालिकाले मिलाउने निर्णय गरेको छ ।
त्यस्तै रातको समयमा बत्ती जाने समस्या रहेकाले वैकल्पिक ऊर्जाको व्यवस्थापनको लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई अनुरोध गर्ने निर्णय भएको छ । बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी क्यामेरा जडान गर्ने व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने र अनुगमन, निरीक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।
बैठकले अनाधिकृत व्यक्तिको प्रवेशलाई निरुत्साहित गर्ने लगायतको निर्णय भएको छ । बैठकले बाल सुधारगृह परिसरमा मर्मत गर्नुपर्ने संरचना र सामग्री एक हप्ताभित्र बाल सुधारगृहले मर्मत गरी अद्यावधिक गर्ने निर्णय गरेको छ । बाल सुधारगृहले कम्तीमा हप्ताको एक पटक मनोसामाजिक परामर्श अनिवार्य उपलब्ध गराउने पनि निर्णय गरेको छ । प्रजिअ अर्यालले बालगृहमा आवश्यकपर्ने पङ्खा र खानेपानीको व्यवस्थापन कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने जानकारी दिए ।