
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार पनि उनीहरू दुवै जनाको रिट हेर्दाहेर्दैमा राखेको हो । उक्त इजलासले निरन्तर सुनुवाइ गर्दै आएको छ ।
शाक्यले आफ्नो पहिलो रिट टुंग्याउनुपर्ने तथा घिसिङले आफूलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्नुपर्ने माग गर्दै छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।
००००
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरासहित ४१ जनालाई आपराधिक उपद्रव र संगठित अपराधमा ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई बुधबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
००००
फोहोर नगरी, केही नभत्काई आन्दोलन गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले शिक्षकहरूलाई धन्यवाद दिएका छन् ।
बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरेका थिए । काठमाडौंका विभिन्न क्षेत्रबाट र्याली निकालेर माइतीघर मण्डलमा उनीहरूले धर्ना दिएका थिए ।
००००
काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव लगायतका अपराध गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका(९ घर भएका ४७ वर्षीय प्रेम थापा मगर रहेका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको बुधबार अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा मंगलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।
सांसद बोहोराको बुधबार पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिए ।
००००
सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ आदेश गरेको छ ।
न्यायाधीश डा नहकुल सुवेदीको एकल इजलासले बुधबार प्राधिकरणका अध्यक्ष ओझाको योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश गरेको हो ।
००००
काठमाडौंको टोखास्थित झोरमा ट्रकभित्र भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर भएका नारायण पौडेल रहेको अनुसन्धानबाट खुलेको छ ।
राजश्व अनुसन्धान विभागले दुई साता लामो अनुसन्धानमा पौडेलको संलग्नता खुलेपछि उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पूर्जी मागिसकेको छ । पौडेल लामो समयदेखि टोखामा बस्दै आएका थिए ।
गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर रकम रसुवातर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी ट्रक चालक हुन् ।
लामाले ट्रकमा फल्स बटम बनाएर अमेरिकन डलर र युरो लुकाएर लैजाँदै थिए । विभागका एक अनुसन्धान अधिकृतका अनुसार उक्त रकम पौडेलले दिएको खुलेको छ ।
००००
काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले राहतस्वरूप जनही १० लाख दिने भएको छ ।
गृहमन्त्री रमेश लेखकले बुधबार सरकारको राहत कोषबाट उक्त रकम पीडित परिवारलाई उपलब्ध गराउने निर्णय गरेका हुन् ।
००००
तराई–मधेश केन्द्रित ७ राजनीतिक दलले बिहीबार मोर्चा घोषणा गर्ने तयारी गरेका छन् ।
जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा हुने भएको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक २३.८६ अंकले बढेर २७००.०४ को विन्दुमा कायम भएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो औपचारिक भ्रमणबाट नेपाल र थाइल्यान्डबीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
००००
मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्पले क्षतिग्रस्त म्यानमार प्रस्थान गरेको छ ।
म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षतिपश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।
००००
गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने भाटभटेनी सुपरमार्केटका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरिएको छ ।
उनलाई एक कार्यक्रमबीच भाटभटेनीले बुधबार ५ लाख १ हजार १ सय ११ नगद रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।