काठमाडौँ, ५ माघ - नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद् र चाइना फोटोग्राफर्स एसोसिएसनद्वारा नेपाल कला परिषद्मा ‘चीनको सौन्दर्य’शीर्षकमा तस्बिरहरुको प्रदर्शनी आजदेखि सुरु भएको छ ।
प्रदर्शनीमा चीनको प्रकृति, संस्कृति, जनजीवन, जनावर, विकासको वैभव, ऐतिहासिक सहर आदि गरी चीनका ४० फोटोग्राफरका ४० तस्बिर राखिएका छन् । हिउँले ढाकिएका वनस्पति, फर्बिडन सिटी, पान्डा, चिरिएको हिमाली भूभाग, मध्य युयान वंशको पुरानो घर आदिले केही आकर्षण राख्छन् ।
प्रदर्शनी यही माघ १० गतेसम्म चल्ने छ । सो शीर्षकमा नेपालमा आयोजित दोस्रो प्रदर्शनीको उद्घाटन गर्दै कलाकार किरण मानन्धरले नेपाली कलाकार अरनिकोले चीनमा सुरु गरेको कला सम्बन्धलाई अझ सुदृढ गर्नुपर्ने बताए ।
आयोजक एसोसिएसनका अध्यक्ष लि युले फोटोग्राफीको साझा भाषाका माध्यमबाट आपसमा समझदारी बढाउन र मित्रतालाई अझ प्रबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमाल, सहमहासचिव शान्तकुमार राई र परिषद्का अध्यक्ष डा हरिश्चन्द्र शाहले नेपाली कलाकारले चिनियाँहरुसँग धेरै सिक्न सक्ने बताउँदै नेपाली र चिनियाँ कलाकारले कला क्षेत्रमा सँगै काम गरेमा अझै प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गरे ।