२६ जेठ २०८३, मंगलबार

बौदीकालीमा पुग्यो बिजुली, स्थानीय हर्षित

चैत २७, २०८१
नवलपरासी
बौदीकालीमा पुग्यो बिजुली, स्थानीय हर्षित

​नवलपुरको पहाडी गाउँपालिका बौदीकाली– ५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो ।

पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुशी भएका छन् । लामो समय अन्धकारमा बस्दै आएकामा  अब भने गाउँ नै उज्यालो हुने बौदीकाली–५, ववकका  गेषबहादुर रानाले बताए ।

बौदीकाली–५, ववकअन्तर्गत यहाँका अर्खलाथर, चितौरेथर, लुङ्गेलीथर, बोझाजी, हर्वले, बेसारडाँडाका करिब दुई सय परिवार विद्युत्‌बाट लाभान्वित हुनेछन् ।

विद्युत् नपुग्दा टुकीको भरमा बस्नुपर्ने बाध्यता थियो । बिजुली पुगेसँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरिएको उनले बताए । अहिले विद्युत् मिटर जडानका लागि आवेदन दिएका घरमा मिटर जडानको काम भइरहेको छ ।

उज्यालो बौदीकाली कार्यक्रमअन्तर्गत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । 

पालिकाले उज्यालो बौदीकाली कार्यक्रममार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए ।

'अहिलेको समयमा समेत अन्धकारमा बस्नुपर्ने बाध्यता थियो, त्यही भएर विद्युतीकरणका लागि बजेट विनियोजन गर्‍यौं । अहिले ववकमा बिजुली बाल्न सफल भएका छौं,' गाउँपालिका अध्यक्ष ओझाले भने ।

गाउँपालिका भित्रका चार वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यसअघि विद्युतीकरण गरिएको अध्यक्ष ओझाले बताए । 

अहिले वडा नम्बर –५, ववकमा विद्युतीकरण भएको र वडा नम्बर–६, नरममा समेत छिट्टै विद्युत् पुर्‍याइने उनले बताए । बुलिङटारको बोझा पोखरीमा विद्युत् शव स्टेसन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहज भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्