
बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ ।
मन्त्रीस्तरीय बैठकमा ३ देशका मन्त्रीहरूको भौतिक सहभागिता थियो । बाँकी ४ सदस्य राष्ट्रका मन्त्री तथा प्रतिनिधि भर्चुअल रूपमा सहभागी भए ।
बैठकको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले कृषि क्षेत्रको विकासका लागि बिमस्टेक सद्स्य राष्ट्रहरूको सहकार्यमा जोड दिए । जलवायु परिवर्तन , विषादीको बढ्दो प्रयोगले बिमस्टेक अन्तर्गतका राष्ट्रममा चुनौती थपेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसको सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए ।
भारतका कृषिमन्त्री शिवराज चौहानले बिमस्टेक राष्ट्रमा कृषि , पशुपन्छी तथा मत्स्य पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्नेमा जोड दिए ।
यसअघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो ।
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री चौहानबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए ।
चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
यसैगरी भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सोसँग पनि द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपालबीच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै याकको विकासमा सहकार्य गर्न सकिने बताए ।
भुटानका मन्त्रीले दुई देशका प्रयास समान र साझा रहेकाले नेपाल र भुटानबीच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गरे ।