०५ साउन २०८३, मंगलबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : देशको वित्तीय स्थिति 'ठिकठाक', वर्षापछि राहतको सास

चैत २८, २०८१
काठमाडौं
सरसर्ती २४ घण्टा : देशको वित्तीय स्थिति 'ठिकठाक', वर्षापछि राहतको सास

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

पानी परेसँगै काठमाडौंको वायु प्रदूषण घटेको छ । उपत्यकामा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो। हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १०औँ स्थानमा झरेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८ बजेको मापनअनुसार काठमाडौंको समग्र एक्यूआई १५२ छ । काठमाडौंमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा शुरू भएको थियो। गएराति र आज बिहान पनि काठमाडौंमा सामान्य वर्षा भएको हो । काठमाडौंसहित देशका अन्य स्थानमा पनि वर्षा भएको छ । 

०००
अदालतले फैसला गरेको १२ वर्षपछि सरकारले नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सम्पत्ति जफतको प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सर्वोच्च अदालतको फैसला बमोजिम खड्काको जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते पूर्वमन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै ललितपुरमा रहेको खड्काको घर बनेको जग्गा जफत गर्ने फैसला गरेको थियो । खड्काको सानेपामा रहेको १ रोपनी ६ आनाभन्दा बढी जग्गा जफत गर्नुका साथै २० लाख ५६ हजार ९८७ रूपैयाँ असुल उपर गर्नुपर्ने फैसलामा भनेको थियो । फैसला बमोजिमको रकम भने असुल उपर भइसकेको छ । सर्वोच्च अदालतले खड्कालाई भ्रष्टाचारी ठहर गर्दै उनको सम्पत्तिमध्ये मूल्यांकनको समयमा ९४ लाख ७४ हजार रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको बताएको थियो । 

०००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगहरुसँग ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन’को बाँकी बक्यौता रकम यकिन गरेर तत्काल उठाउन निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालयमा आज मन्त्रालयका सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर बक्यौता उठाउन निर्देशन दिएका हुन् । ​ विक्रम संवत् २०७३ माघदेखि २०७५ वैशाखसम्म विभिन्न उद्योगलाई ट्रङ्कलाइन र डेडिकेटेड लाइनमार्फत विद्युत् उपलब्ध गराइएको र सोको महसुलसम्बन्धी विवाद रहँदै आएको छ । ऊर्जामन्त्री खड्काले विद्युत् महसुल विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा बाँकी बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

०००
वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागिमात्रै १४ आरोही समूहका २७ महिला र १०७ पुरुषसहित जम्मा १३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् । जसमध्ये ३० देशका २७ महिला र १०७ पुरुषसहित कूल १३४ जनाले सगरमाथा आरोहण गर्न अनुमति लिएका हुन् । यस्तै, अन्नपूर्ण–१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् ।  हालसम्म हिमाल आरोहणबाट २४ करोड ५२ लाख ७७ हजार पाँच सय ३७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।   

०००
यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार रहेका दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश जारी गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले आफू नभागेको समेत दाबी गरेका छन् । उनले आफू नभागेको तर जोगिएको बताएका छन् । उनले आफू नेपालमै कतै रहेको समेत उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म भागेको होइन । यो केसमा म जोगिएको मात्रै हो । किनभने म रहेँ भने यो अभियान सफल हुन्छ । यो जनविद्रोह सफल हुन्छ । म नै रहिँन भने यो जनविद्रोह यत्तिकै गवाएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ ।’ उनले दुर्गा प्रसाईं अब व्यक्ति मात्र नभएर विचार भइसकेको बताए । उनले आफू नेपालीहरूको लिडर बन्न चाहेको पनि उल्लेख गरेका छन् । उनले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई पाँच/पाँच लाख सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

०००

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म)को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण अर्थात् रेमिट्यान ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो विप्रेषण आप्रवाह ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको हो । फागुन महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ पुगेको छ । 

देशको कूल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २१ खर्ब ३० अर्ब ३१ करोड रहेको छ  भने, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ७८ अर्ब ९५ करोड रहेको छ । आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, मूल्यवृद्धि ३.७५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।

०००

एसियाली विकास बैंक (एडीबी)ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडीबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक- २०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडीबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।

०००
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये १२५ जना उपचारपछि घर फिर्ता भएका छन् । प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र बी एण्ड बी अस्पतालमा एक/एक जना गरी पाँच जना हाल उपचाररत छन् । बाँकी सबै उपचारपश्चात घर फिर्ता भएका मन्त्रालयले जनाएको छ । बुधबार नै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलगायतको टोलीले उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 
०००
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ देखि अपराह्न ३बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो क्रम कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्