
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार बिहान नेपालले कुवेतलाई ६ विकेटले हराएको हो ।
यो नेपालले टी-२० आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो । यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो ।
कुवतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सानदार इनिङ खेले । उनले ५० बलमा ८१ रन बनाए । आशिफ शेखले ३८ बलमा ५३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाए ।
कुशल मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए । बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।
नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।
पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।