
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा. भेषबहादुर थापासहित चार जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा. थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरेको हो ।
नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई कदरपत्रसहित रु २५ हजार नगदसहित सम्मान गरिएको हो ।
सोही कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्मय कृति पुरस्कार भारतको कोलकताका लेखक डा. सत्यप्रकाश तिवारीलाई प्रदान गरेको छ ।
नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकोमा उनलाई कदरपत्र र रु २५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानले क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरूप उनलाई पुरस्कृत गरिएको हो ।
यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्मयको क्षेत्रमा उनको योगदान स्वरूप कदरपत्र र रु १० हजार नगदसहित पुरस्कृत गरिएको छ ।
साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई रु पाँच हजारसहित सम्मान गरिएको थियो ।