
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल बढाउनेगरी काम गरिरहेको बताएका छन् ।
रुपन्देहीमा उद्योगी व्यवसायीसँगको छलफल तथा अन्तरक्रियामा उनले अध्यादेशमार्फत् एकैचोटी निजी २९ कानुन संशोधन गरेर निजी क्षेत्रका समस्या समाधानको पहल गरिएको बताए ।
'वर्तमान सरकार निजी क्षेत्रलाई सुन्ने हिसाबले अघि बढेको छ । सरकारको उद्देश्य निजी क्षेत्रमैत्री वातावरण बनाउने हो, त्यो प्रयासस्वरूप कानुन संशोधन गरिएको छ । तत्पश्चात् सकारात्मक परिवर्तन देखिएको छ,' उनले भने. 'निजी क्षेत्रमा उत्साह बढेको छ । आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार निजी क्षेत्रसँगै छ ।'
आर्थिक वर्ष २०८२/८३ को बजेट तथा राजस्व नीति सम्बन्धमा छलफलमा प्राप्त सुझावहरू अध्ययन र विश्लेषण गरेर क्रमशः कार्यान्वयनमा लगिने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले आयात प्रतिस्थापन गर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनले करको दरभन्दा करको दायरा बढाउन जरुरी रहेको धारणा राखे ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले नाकाबन्दीमा प्रयोग भएका अस्थायी सीमा नाका हाल वैधजस्तैगरी चलिरहेको र ती नाकाबाट चोरी–तस्करी बढिरहेको गुनासो गरे ।
उद्योगी–व्यवसायी सरकारी निकायमा सेवा लिन जाँदा अलमल हुने खालका संरचना खारेज गरेर एकद्वार नीतिबाट सेवा पाउने अवस्था बनाउन उनले सुझाव दिए । पछिल्लो पटक सरकारले निजी क्षेत्रको हितमा अध्याधेशमार्फत् ल्याएका कानुनले खुला र प्रतिस्पर्धी बजारको सिद्धान्तलाई आत्मसात गरेकोमा खुसी व्यक्त गरे ।