
२०८२ को पहिलो दिन चलचित्रकर्मीले सात चलचित्र निर्माण र तीन प्रदर्शनको घोषणा गरेका छन् । यसैगरी सोमबार प्रदर्शनरत नेपाली चलचित्र हेर्ने दर्शकको पनि उपस्थिति हलमा बाक्लो थियो । सोही अवसरमा चलचित्र निर्माता तथा निर्देशकले तीन चलचित्रको प्रदर्शन मिति र सातको निर्माण घोषणा गरेका हुन् ।
यो क्षेत्रका लागि नयाँ वर्षको शुभ साइत पारेर आज विसं २०८० को सफल चलचित्र ‘जारी’ को दोस्रो शृङ्खला बन्ने घोषणा गरिएको छ । यसै वर्षको दसैँमा प्रदर्शन हुने उक्त चलचित्रको छायाङ्कन यही वैशाख तेस्रो सातादेखि सुरु हुने निर्देशक एवं लेखक उपेन्द्र सुब्बाले बताए ।
उनले भने, “जारीकै कथालाई निरन्तरता दिएर यसको दोस्रो शृङ्खला तयार गर्दैछौँ । नयाँ परिवेश र पुरानै जोडीको कथालाई दर्शकले हेर्न पाउनु हुनेछ । पहिलो चलचित्रमार्फत दर्शकको अपेक्षालाई पूरा गर्नेछौँ ।”
पाँचथर आसपास क्षेत्रबाट छायाङ्कन थालिने ‘जारी २’ मा अभिनेता दयाहाङ राई, विजय बराल, मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बुलगायत कलाकारले अभिनय गर्नेछन् ।
याम शेर्पाले निर्देशन गर्ने ‘मिरमिरे’, ओमप्रतीक गुरुङले निर्देशन गर्ने ‘ढुकढुकी’, सुनिल निउरेले निर्देशन गर्ने ‘पुष्पलता’, विकास सुवेदीले निर्देशन गर्नुहुने तथा अभिनेता पल शाहले निर्माण गर्ने ‘यानीमाया’, काजी लिम्बूको लेखन रहेको चलचित्र ‘जदौ’ को निर्माण हुने घोषणा गरिएको छ । नयाँ वर्षलाई लक्षित गर्दै निर्माण घोषणा गरिए पनि ‘जारी २’ बाहेक अन्यले छायाङ्कन हुने समय, कलाकार र प्राविधिकको विवरण सार्वजनिक गरेका छैनन् ।
नयाँ वर्षमा चलचित्र भवनमा उपस्थित दर्शकको ध्यान आकर्षित गराउन सकिन्छ भनेर निर्माता तथा निर्देशकले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुनसक्ने निर्देशक पुर्नेन्दु झाले बताए ।
साथै आजै चलचित्र ‘डबल ट्रिपल’, ‘पहाड’ र ‘सिटामोल’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।