
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
यही वैशाख १७ गते बुधबार बस्नेगरी देउवाले केन्द्रीय समितिको बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
मुख्य सचिव पौडेलले केन्द्रीय समितिका बैठकमा पार्टीको एक सय दिने अभियानमा गएका नेताले प्रतिवेदन पेस गर्ने जानकारी दिए ।
‘पार्टीले सय दिने अभियान चलाएको थियो । जसमा ७७ जिल्लामा केन्द्रीय नेता जानुभएको थियो । उहाँहरूले ७७ वटै जिल्लाको सांगठनिक अवस्थाबारे प्रतिवेदन पेस गर्नुहुन्छ’, पौडेलले भने, ‘उहाँहरूले दिएको रिपोर्ट अनुसार पार्टीले नयाँ रणनीति बनाउँछ । बैठकमा समसामयिक सन्दर्भमा छलफल हुन्छ र संगठनको विषय बढी केन्द्रित हुनेछ ।’
कांग्रेससमेत सहभागी भएको सरकारको कार्यसम्पादनबारे प्रश्न उठिरहेका बेला देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।