
यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको पाइएको छ ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउँछन् । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उनले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताए ।
उनले भने, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उनले अझै एक महिना यस्तो समस्या रहने बताए । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउँछन् । उनले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिए ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारीका अनुसार स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको छ ।
उनको भनाइ छ, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उनको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउँछन् ।
पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उनले सङ्केत गरे ।
वायु प्रदूषण अर्काे कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउँछन् । यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उनले बताए । रासस