११ असार २०८३, बिहीबार

इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच सहकार्य

बैशाख ३, २०८२
काठमाडौं
इन्फोडेभलपर्स र वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच सहकार्य

नेपालको अग्रणी सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रालि र अत्याधुनिक एपीआई प्रविधिको नेतृत्व गर्ने वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच रणनीतिक साझेदारी शुरू भएको छ। 

सहकार्य अन्तर्गत, पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थालाई एकीकृत, सुरक्षित र मापदण्ड अनुरूपको एपीआई सेवा प्रदान गरिनेछ। 

साझेदारी अनुसार हाल पुमोरीमा प्रयोग भइरहेका टीटुपी र पीडीएक्स प्रणालीलाई क्रमिक रूपमा एपीआई म्यानेजरसहितको उन्नत संस्करणले प्रतिस्थापन गरिनेछ।

वन पोइन्टको एपीआई म्यानेजमेन्ट सिस्टम हाल नेपालका १६ वटा बढी वाणिज्य बैंक तथा ७ अन्तर्राष्ट्रिय बैंकद्वारा डिजिटल भुक्तानी तथा सुरक्षित एपीआर्इ एकीकरणका लागि प्रयोगमा ल्याइएको प्रणाली रहेको बताइएको छ। 

यस साझेदारीपछि  पुमोरी प्रयोगकर्ता बैंक तथा वित्तीय संस्थाले पनि सोही उन्नत प्रविधिको प्रयोग गरी ई-बैंकिङ, मोबाइल बैंकिङ तथा स्वचालित बैंकिङ सेवा थप प्रभावकारी रूपमा विस्तार गर्न सक्नेछन्।
 
यो सहकार्यले सेवा प्रवाहमा गति ल्याउने, सञ्चालन लागतमा कटौती गर्ने नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र बैंकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको दुवै कम्पनीको भनाइ छ । 

सहमतिपछि प्रतिक्रिया व्यक्त गर्दै इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले भने, ‘यो साझेदारीलाई हामी नेपाली बैंकिङ क्षेत्रको डिजिटल यात्रामा महत्त्वपूर्ण माइलस्टोनको रूपमा लिएका छौं । यसले बैंक तथा वित्तीय संस्थालाई नवीनतम प्रविधिहरूसँग सहज, सुरक्षित र प्रभावकारी रूपमा जोड्न सहयोग गर्नेछ।’

वन पोइन्ट फाइनान्सियल सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले भने, ‘हाम्रो एपईआई प्रणालीले बैंकहरूलाई डेटा केन्द्रित निर्णय लिन र छरितो सेवा प्रदान गर्न सहयोग पुर्‍याउनेछ। यो साझेदारीले उक्त प्रभावलाई थप विस्तार गर्नेछ।’

रणनीतिक साझेदारी औपचारिक रूपमा शुरू गर्नका लागि यी दुई कम्पनीले समझदारी गरेका छन् । समझदारीपत्र आदनप्रदान गर्न आयोजित कार्यक्रममा इन्फोडेभलपर्स प्रालिको तर्फबाट पुमोरी कोर बैंकिङ सिस्टमका वरिष्ठ म्यानेजर रविन राणा, सुलोचना लक्ष्मी तुलाधर, म्यानेजर दिलीप दवाडी तथा वन पोइन्ट फाइनान्सियल सर्भिसेजका चिफ टेक्नोलोजी अफिसर विक्रम दुवाल लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्