१५ असार २०८३, सोमबार

पठन संस्कृति विकासमा बुक बक्सको प्रयास, कति छ चुनौती ?

बैशाख ३, २०८२
पाेखरा
पठन संस्कृति विकासमा बुक बक्सको प्रयास, कति छ चुनौती ?

पढिसकेका किताबको खात हुन्छ कोठाको एकछेउ बनेको सानो पुस्तकालयमा । यी पढिसकेका किताब कसलाई दिने ? पढिसकेका किताब अरूलाई सदुपयोग नहुने कुरै भएन । नयाँ किताब आफूलाई पनि फेरिफेरि पढ्न मन लागिहाल्छ । आफूले पढेका किताब राखिदिएर नपढेका किताब ल्याउन पाउँदा पढ्ने रस बसेकालाई गज्जब हुने भइहाल्यो । 

पोखराको लेकसाइडमा यस्तै गज्जबको काम भइरहेको छ । तपाईं लेकसाइड पुग्नुभयो भने एक/दुई रेष्टुरेन्ट र स्टोरमा देख्नुहुनेछ- बुक  बक्स । जहाँबाट आफूले नपढेका किताब ल्याउन पाइन्छ । पढिसकेका किताब अरूका लागि त्यहीँ राखिदिन सक्नुहुन्छ ।

विदेशको घुमाइमा सडक र पार्क छेउछाऊ उपन्यासको सहज पहुँच देखेकी थिइन् जुना श्रेष्ठले । वयस्क र बालबालिकालाई बेग्लाबेग्लै किताब राखिएको बक्स । पठन संस्कृतिमा प्रोत्साहन गर्न खोजेकी जुनालाई यो विचार उत्तम लाग्यो । पुस्तकालयको पहुँच पुर्‍याउन मन थियो उनलाई । तर, उनले सोचे अनुरूप सहज थिएन । त्यसैले विदेश घुमाइमा देखेको दृश्यलाई उतारेर पहुँचयुक्त मिनी लाइब्रेरी बनाउने सोच बनाइन् । 

सन् २०२२ मा यो कामलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सोच्दै गर्दा उनले साथीसँग कुरा गरिन् । सँगै पढेको साथी विश्वास रिजाल र जुनाको विचार मिल्यो । त्यसपछि उनीहरूले बुक  बक्स राख्ने योजना बनाए । विश्वासको संस्थामार्फत् उनीहरूले शुरूआतका लागि आफ्नो साथीसंगीमाझ धेरेथोर सहयोग संकलन गरे । 

‘सँगै पढेको साथीले पनि यो कामका लागि रुची देखाएपछि दुवैको विचार मिल्यो । काठमाडौं, पोखरा र भक्तपुर लगायतका ठाउँमा त्यही पैसाले विभिन्न स्थानमा बुक बक्स बनाएका छौं । दार्चुलामा दुईवटा बनाएका छौं’, जुनाले भनिन् । 

‘टेक अ बुक, लिभ अ बुक’ थिमकासाथ जुना र विश्वासले सन् २०२३ देखि बुक  स्टोर शुरू गरे । 

बुक  बक्स सञ्चालनका चुनौती 
शेयरिङ र पठन संस्कृतिबारे बुझाउन खोलेको बुक  बक्स सञ्चालनको निरन्तरता दिन उत्तिकै सकस छ । जुनाको सिधा सोच थियो, पढिसकेकाले किताब ल्याएर राख्छन् । नपढेकोले किताब लिएर जान्छन् । 

मुख्य लक्ष्य भनेको पढ्ने बानीको विकास गराउनु थियो । उनीहरूले १० वटा फरक-फरक स्थानमा बुक  बक्स राखे । शुरूमा किताब राख्दा प्रत्येक बुक  बक्समा ४० वटा नयाँ र पुराना पुस्तक हुन्छन् । बालबालिकालाई भनेर समेत बुक  बक्समा छुट्टै किताब राखिन्छ । 

तर, लेकसाइडको एक स्थानमा राखेको बुक  बक्सबाट बालबालिकाको पुस्तक पढ्न कसैले लगेनन् । नेपालको पठन संस्कृति विद्यालयको पाठ्यक्रममा मात्र सीमित रहेको प्रस्ट भइन् उनी । शेयरिङ कल्चरको थिति बसाल्न खोजेको बुक  बक्सले किताब फिर्ता पाउँदैनन् । बुक  बक्सबाट किताब लैजाने मात्र हुन्छन् । जुन बुक बक्सका लागि कठिनाइ बनिरहेको छ । 

‘एउटा सुपरमार्केटमा राखेका थियौं । त्यहाँ पनि सबै लिएर गयो । काठमाडौंको एउटा बुक  स्टोरमा पनि फिर्ता ल्याएनन् । अब चाहिँ हामीले रजिष्टर गरेर मात्र लैजान भनेका छौं’, उनले भनिन् । 

बुक  बक्सले ग्रामीण भेगमा केन्द्रित भएर काम गर्न खोजिरहेको छ । भर्खर मात्र दार्चुलाको एक विद्यालयबाट बुक  बक्स शुरूआत गरिएको छ । ग्रामीण भेगमा पुस्तकालय पुर्‍याउने बुक  बक्सको यो नयाँ खुड्किलो ठान्छिन् जुना । 

यद्यपि, विद्यालयसँग समन्वय गरेर बुक  बक्स राखेको नमीठो अनुभव छ उनको । पोखराको एक विद्यालयमा सहकार्य गरि बुक  बक्स राखियो । विद्यालय जाँदा एकपटक ताला लगाइएको थियो । विद्यार्थीको जाँच भएकाले ताला लगाएको शिक्षकले जुनालाई सुनाए ।

बुक  बक्समा राखेका किताब बेलाबेला फेरिरहन्छिन् जुना । त्यसैले अर्कोपटक पुस्तक ‘सफल’ गर्न पुग्दा कति किताबका पाना नै च्यातिएका थिए । 

‘अस्ति महिनामा मात्र गएका थियौं । कति किताब चाहिँ च्यातिएर पाना निस्किएको थियो । शिक्षकहरूले पनि यसो हेरिदिने गर्नुभयो भने राम्रो हुन्थ्यो’, उनले सुनाइन् । 

पढ्नका लागि पुस्तक मिलाइदिने बुक  बक्सले नै असहजता भोग्नुपरेको हुन्छ, कतिपय स्थानमा । एकपटक लमजुङमा बुक  बक्स राख्न जाँदा वडा सदस्य आइपुगे । उनले सबै पुस्तक ओल्टाइपल्टाइ गरेर हेरे । अनि, सोधे- धर्म प्रचारको पुस्तक त होइन !

‘लमजुङमा राख्न लगेका थियौं । त्यहाँ वडा सदस्य पनि आउनुभएको थियो । धर्म सम्बन्धी किताब त छैन भनेर हामीले लिएर गएको सबै किताब हेर्नुभयो । यस्तो पनि हुनेरहेछ’, उनले सुनाइन् । 

पढ्न लगिएका पुस्तक फिर्ता नआउनु सबैभन्दा बढी समस्या लाग्छ उनलाई । यद्यपि, ग्रामीण भेगमा मिनी पुस्तकालय पुर्‍याउने हिसाबले बुक  बक्स अगाडि बढिरहेको उनको भनाइ छ । साथै, पाठ्यक्रम बाहेक अन्य पठन संस्कृतिको अभ्यास बसे विद्यार्थीको बौद्धिक विकास हुने उनको विचार छ ।

salt training

कमेन्ट गर्नुहोस्