२४ जेठ २०८३, आइतबार

अपारदर्शी कारोबार गरेर बुटवलको सनराइज सहकारीका अध्यक्ष सम्पर्कविहीन

बैशाख ३, २०८२
बुटवल
अपारदर्शी कारोबार गरेर बुटवलको सनराइज सहकारीका अध्यक्ष सम्पर्कविहीन

बुटवलस्थित सनराइज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक कार्यालय बन्द गरेर फरार भएका छन् । 

बुटवल उपमहानगरपालिका–११ स्थित सहकारी दुई वर्षअघि मात्र स्थापना भएको थियो । सहकारीका अध्यक्ष आकाश भट्टराईले बचत अपचलन गरेर सम्पर्कविहीन भएपछि पदाधिकारी र कर्मचारीले कार्यालय बन्द गरेका हुन् ।

बचतकर्ताको लाखौं रकम फिर्ता हुनुपर्ने माग गर्दै पीडितहरूले दैनिक कार्यालय अगाडि प्रदर्शन गर्ने गरेका छन् । 

संस्थाले निकालेको सूचनामा अध्यक्ष सम्पर्कमा नआउँदासम्म कर्मचारीबाट कार्यालय सञ्चालन गर्न असहज परिस्थिति बनेको भन्दै सम्बन्धित निकायबाट अध्यक्षलाई खोजेर उपस्थित गराएपछि बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइने उल्लेख छ । 

बुटवल उपमहानगरपालिका-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बचतकर्ताको रकम अपचलन गरेर अध्यक्ष फरार भएको अनौपचारिक जानकारी आएको बताए ।

बचतकर्ता किरण गुरुङ आफूले नियमित बचत गर्दै आएको सहकारीका अध्यक्ष सम्पर्कविहीन भएपछि धेरै बचकर्ता बिचल्लीमा परेको बताउँछन् । 

पछिल्लो समय रूपन्देहीमा सहकारी ठगी गर्ने प्रवृत्ति मौलाएको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकास्थित गौतमबुद्ध स्वाबलम्बन बचत तथा ऋण सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । 

बचतकर्ता सहकारीको कार्यालय धाउन थालेका छन् । बुटवलका सुप्रिम, उपकार, उपदेश लगायत आधा दर्जन भन्दा बढी सहकारीले यस क्षेत्रका बचतकर्ताको करोडौं रकम फिर्ता गर्न सकेका छैनन् । 

नियामक निकायले प्रभावकारी रूपमा सहकारीका गतिविधिलाई अनुगमन र कारबाही नगर्दा यस्ता गतिविधि रोकिएका छैनन् । 

रुपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी हाल भैरहवा कारागारमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्