२४ जेठ २०८३, आइतबार

सबस्टेसन आगलागीको अध्ययन गर्न कार्यकारी निर्देशकसहितको टोली ढल्केबर पुग्यो

बैशाख ४, २०८२
काठमाडौं
सबस्टेसन आगलागीको अध्ययन गर्न कार्यकारी निर्देशकसहितको टोली ढल्केबर पुग्यो

बुधबार आगलागी भएको नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनको अध्ययन तथा निरीक्षण गर्न कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहितको टोली बिहीबार ढल्केबर पुगेको छ । 

अचानक आएको प्राविधिक समस्या, त्यस क्षेत्रको विद्यमान लोड (माग र आपूर्ति)को अवस्था तथा यस्ता समस्याको दिगो समाधान गर्ने उद्देश्यसहित टोली त्यहाँ पुगेको हो । 

वषौंदेखि प्राधिकरण अन्तर्गतका वितरण पूर्वाधार संरचना मर्मत सम्भार (काम चलाउ) अवस्थामा सञ्चालन गरिँदै आएको छ । 

दिगो र भरपर्दो विद्युत् आपूर्ति गर्न पूर्वाधार संरचनाको मर्मत सम्भार, नयाँ जडान लगायत काम गर्ने र भविष्यमा यस्ता खालका दुर्घटना घट्न नदिने गरी अगाडि बढ्ने योजनाका साथ यसको अध्ययन गरिने कार्यकारी निर्देशक शाक्यले बताए । 

ढल्केबर देशकै ठूलो सबस्टेसन हो । यहाँ ४०० केभीदेखि ११ केभी (४००/२२०/१३२/३३/११ केभी) सम्मका अलग-अलग सबस्टेसन छन् । 

बुधबार आगलागी भएको वा समस्या आएको सबस्टेसन १३२/३३/११ केभी खण्डमा मात्र हो । सबस्टेसन पूरै खण्डमा कुनै समस्या नआएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिए । यो सबैभन्दा पुरानो सबस्टेसन हो, जसको २०४२ सालतिर निर्माण गरिएको थियो । त्यसपछि, विस्तारै प्राधिकरणले २२० केभी र ४०० केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको थियो । 

सबस्टेसनमा जडित करेन्ट ट्रान्फर्मर (सिटी) पड्‌केर आगलागी हुँदा बुधबार बिहान करिब ७:३० बजेदेखि त्यस क्षेत्रको विद्युत् आपूर्तिमा समस्या आएको थियो । १३२/३३/११ केभी सबस्टेसनमार्फत् धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायत क्षेत्रमा विद्युत् हुँदै आएको छ ।

null

उक्त खण्डको सबस्टेसनमा जडित ६३ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मरमा २०८१ साल भदौ १८ गते पनि समस्या आएको थियो । दुई वटा ट्रान्सफर्मरबाट करिब ९० एमभीए विद्युत् भार (लोड) आपूर्ति भइरहेकामा करिब ३ सातासम्म ३० एमभीएको लोड काटिएको थियो । 

त्यतिबेला प्रभावित क्षेत्रको आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् आयात गरिएको थियो । प्राधिकरणले २०७८ साल चैतमा ढल्केबरको १३२/३३ केभी सबस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गरेको थियो । 

ढल्केबर सबस्टेसनबाट पश्चिम चन्द्रनिगाहापुर तथा काठमाडौंसम्म विद्युत् आपूर्ति हुने गरेको छ । ढल्केबरस्थित ४०० केभी सबस्टेसन नै नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको एकमात्र संरचना हो ।

ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत् नेपालले हिउँदमा मागअनुसार आयात र बर्खामा विद्युत् निर्यात गर्दै आएको छ । २०७७ साल माघ १९ गते ४०० केभी सबस्टेसनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भएको थियो । त्यतिबेला पनि प्रधानमन्त्रीमा ओली र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा शाक्य नै थिए । 

२२० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा आएपछि २०७२ साल फागुन ८ गते ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनमार्फत् भारतबाट पहिलो पटक ८० मेगावाट विद्युत् आयात शुरू गरिएको थियो । यसैलाई नेपालमा लोडसेडिङ अन्त्यको प्रस्थान विन्दु मानिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्