०५ साउन २०८३, मंगलबार

सामाजिक सञ्जाल प्रयोगमा रास्वपाको कडाइ, अमर्यादित र अशिष्ट रूपमा प्रस्तुत नहुन निर्देशन

बैशाख ४, २०८२
काठमाडौं
सामाजिक सञ्जाल प्रयोगमा रास्वपाको कडाइ, अमर्यादित र अशिष्ट रूपमा प्रस्तुत नहुन निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा अमर्यादित र अशिष्ट रूपमा प्रस्तुत नहुन निर्देशन दिएको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न निर्देशन दिएका हुन् ।

अर्यालले सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुकहरूलाई सामाजिक सञ्जाल आचारसंहिता उल्लंघन नगर्न र सभ्य रूपमा प्रस्तुत हुन समेत अनुरोध गरेका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले बनाउँदै गरेको ‘ब्लु प्रिन्टֹ’बारे खाका प्रस्तुत गरे । उनले उद्देश्य, सानो आकार र कम खर्चिलो सरकार, राजनीतिक नियुक्तिको उद्देश्यले गठित नियोग र आयोगको कटौती र सार्वजनिक सेवामा सुधार रहेको व्याख्या प्रस्तुत गरेका कावा प्रवक्ता झाले  जानकारी दिएका छन्  

उनका अनुसार बैठकले पार्टीको संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित ‘जन-यात्रा अभियान’को कार्यविधि समेत सर्वसम्मतले पारित गरेको छ ।

बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन १० महिना पछि सारेको छभने सात वटै प्रदेशमा इन्जार्ज तोकेको छ । 

यसअघि यही वैशाखमा गर्ने भनेर तय गरिएको महाधिवेशन आउँदो फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

महाअधिवेशनको मितिसँगै २०८२ को क्यालेन्डर पनि तयार गरेको झाले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको उनले बताए  ।

‘७५३ पालिकामध्ये ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातै प्रदेशमा समिति गठन भएको छ’, बैठकमा कार्यवाहक प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित क्यालेन्डर अनुसार पार्टीले २०८२ असोजसम्ममा वडा अधिवेशन सम्पन्न गरिसक्ने, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।’

पार्टीको प्रादेशिक समिति र मातहतका पार्टी संरचनालाई अझै सशक्त बनाउने उद्देश्यले सातै प्रदेशमा इन्चार्जहरू तोकिएको झाले बताएका छन् । 

उनका अनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियारलाई तोकिएको छ । मधेश प्रदेशमा मनिष झा,  बागमती प्रदेशमा लिमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल इन्चार्ज तोकिएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशको इन्चार्जमा विपिन कुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्जमा हरि ढकाल तोकिएका छन् । 

बैठकले शिक्षा विधेयक ल्याउन माग राखी विगत १६ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नका लागि यही वैशाख १२ गतेदेखि शुरू हुने संसद् अधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन समेत दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्