
गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनैपनि नाममा हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनैपनि हालतमा क्षम्य नहुने बताएका हुन् ।
वर्तमान संविधान ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँहरू तयार हुनुपर्ने बताए । वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उनको भनाइ छ ।
नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै मन्त्री लेखकले पटकपटक संविधान बन्नु राम्रो नभएको बताए ।
संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइने बताउँदै उनले संविधान विरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने जस्ता अराजक गतिविधि गर्न नपाइने र गरिएमा कानून अनुसार कारबाही हुने स्पष्ट पारे ।

संविधानको सुरक्षा आजको आवश्यकता भएको भन्दै उनले वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने बताए ।
पछिल्ला वर्षमा लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेको बताउँदै मन्त्री लेखकले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रयाशील रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण प्रदेश भएको बताउँदै यी जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिरहेको बताए ।
बाढी पहिरोसँगै भूकम्प लगायतका विपत्तिमा प्रतिकार्यमा सरकार निरन्तर लागिरहेको उनले बताए । प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोडभन्दा नघट्ने गरी कोष समेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरण आदिमा सहयोग गरिरहेको उनले बताए ।