३१ असार २०८३, बुधबार
सरसर्ती २४ घण्टा

गभर्नर नियुक्ति विवाददेखि रास्वपालाई एकपछि अर्को धक्कासम्म

बैशाख ६, २०८२
काठमाडौं
गभर्नर नियुक्ति विवाददेखि रास्वपालाई एकपछि अर्को धक्कासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । शुक्रबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । 

कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए । त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।

००००

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले शुक्रबार जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन् । 

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । 

००००

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज शुक्रबार बिदाइ गरिएको छ । आयोगले  एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।

००००

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै मजबुत र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्दै जाने बताएका छन् । 

नेकपा एमाले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताए ।

००००

ऐनको धज्जी उडाउँदै तलबाट तानेर कार्यकारी निर्देशकलाई सिधै राष्ट्र बैंकको गभर्नर बनाउन खोजेको विषय सर्वोच्च अदालतसम्म पुगेको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर बनाउन लागिएका भनेर चर्चामा रहेका गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै शुक्रबार पूरक निवेदन दर्ता गराएका हुन् ।

६५ वर्षभन्दा माथिको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नमिल्ने भन्दै उनीहरूले यसअघि नै दायर गरेको रिट सर्वोच्चमा विचाराधीन छ । अल्पकालीन अन्तरिम आदेश जारी भएको रिटका सम्बन्धमा आइतबार दुवै पक्षलाई बोलाएर सुनुवाइ हुँदैछ । त्यसैक्रममा सुनुवाइ गर्ने गरी पूरक निवेदनको पेशी तोकिएको छ ।

००००

यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । दुई सय ५७ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

००००

घोषणाको छोटो समयमै चर्चाको शिखरमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एकपछि अर्को धक्का लाग्ने क्रम रोकिएको छैन । गत निर्वाचनकै मुखमा दर्ता भएर २१ सीट जित्दै रास्वपाले परम्परागत दलमाथि दबाब बढाएको थियो । तर, कान्छो पार्टी रास्वपा छोटो समयमै विवादको भुंग्रोमा रुमल्लिएको छ । 

चुनाव जितेको केही समयमै नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद पद गयो । सांसद बन्न पैसाको लेनदेन भएको अडियो प्रकरणमा ढाकाकुमार श्रेष्ठले पद गुमाए । लामिछानेकै विश्वासपात्र डा मुकुल ढकालमाथि पार्टीले अनुशासनको कारबाही गर्दै महामन्त्री र केन्द्रीय सदस्यबाट हटायो ।

नागरिकता लिएर रविले पुनः चितवन २ बाट चुनाव जिते । तर, एउटा होइन, चार जिल्लामा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको मुद्दा चलिरहेको छ । रुपन्देही जिल्ला अदालतले रविलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि रवि फेरि थुनामा पुगेका छन् ।

००००

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धानका शिलशिलामा पक्राउ परेका राप्रपा महामन्त्री एवं सांसद डा धवलशमशेर जबरालाई रिहा गर्ने तयारी भएको छ । स्वास्थ्य समस्याका कारण देखाएर परिवारले राणालाई रिहा गर्न माग गर्दै आएका थिए ।

००००

१२ कक्षाको परीक्षा स्थगित भएको हल्ला फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ ।

बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने स्पष्ट पारेको हो ।

००००

प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ ।

००००

नायिका नीति शाहले विवाह गरेकी छन् ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएर शाहले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्