
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेनबीचको शान्ति सम्झौताका लागि चाँडै प्रगति नभए अमेरिका वार्ताबाट ‘पछि हट्ने’ चेतावनी दिएका छन्।
शुक्रबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता कति दिनभित्रै हुन्छ भन्ने ठ्याक्कै अपेक्षा नभए पनि आफू चाहिँ यो प्रक्रिया चाँडै सकियोस् भन्ने चाहना राखेको बताएका छन्।
उनको यो टिप्पणी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि केही घण्टाअघि दिएको चेतावनीपछि आएको हो। रुबियोले भनेका थिए केही दिनभित्रै ठोस प्रगति नदेखिए अमेरिका वार्ताबाट पछि हट्नेछ।
‘हामी हप्तौं र महिनौंसम्म यो प्रयासमा अडिइरहँदैनौं’, रुबियोले भनेका थिए, ‘हामीसँग ध्यान केन्द्रित गर्नुपर्ने अरू पनि प्राथमिकताहरू छन्।’
युक्रेनमाथि आक्रमण जारी
रुसले भने युक्रेनमाथि आक्रमण जारी राखेको छ। शुक्रबार युक्रेनको उत्तर–पूर्वी शहरहरू खार्किभ र सुमीमा गरिएको रूसी आक्रमणमा दुई जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्।
सन् २०२२ मा शुरू गरिएको पूर्ण रूसी आक्रमणपछि पूर्वी युक्रेनमा क्रमिक रूपमा रूसी सेना अघि बढिरहेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामका लागि कयौं सर्तहरू अघि सारेका छन्।
रुस–युक्रेनबीचको सम्भावित सम्झौताको सन्दर्भमा ट्रम्पले भने, ‘हामी यता मानिसहरू मरेको कुरा गर्दैछौं। हामी यसलाई रोक्न चाहन्छौं, र त्यो पनि यथासम्भव चाँडो।’
‘यदि कुनै एक पक्षले यो अत्यन्तै जटिल बनाउँछ भने हामी भन्छौं, ‘तपाईं मूर्ख हो, तपाईं नराम्रो मानिसहरू हो । अनि, हामी त्यहाँबाट पछि हट्छौं’, ट्रम्पले थपे ।
शान्ति सम्झौतामा चाँडै प्रगति हुने विश्वास ट्रम्प प्रशासनले शुरूआतमै राखेको भए पनि अहिलेसम्म पूर्ण युद्धविरामसम्म पुग्न सकेको छैन। वासिङ्टनले वार्तामा ढिलाइको दोष दुवै पक्षलाई दिएको छ।
पेरिसमा बिहीबार युरोपेली नेतासँग वार्तापछि शुक्रबार रुबियोले भने, ‘अब हामी छिट्टै- म केही दिनको कुरा गर्दैछु, यो सम्भव छ कि छैन भन्ने निर्णयमा पुग्नुपर्छ।’
‘यदि सम्भव छैन भने, हामी अगाडि बढ्नेछौं’, उनले युद्धविराम वार्ताबारे भने।
शान्ति सम्झौता गर्न कठिन हुने स्वीकार गर्दै उनले थपे, ‘यो सजिलो छैन।’
ट्रम्पले कार्यालयमा पुन: प्रवेश गर्नुअघि नै आफ्नो राष्ट्रपतिको पहिलो २४ घण्टाभित्रै लडाइँ रोक्ने दाबी गरेका थिए।