०३ साउन २०८३, आइतबार

टुटाकिराको व्यवस्थापनबारे कर्णालीको प्रयोगशाला परिसरमै अनुसन्धान

बैशाख ७, २०८२
सुर्खेत
टुटाकिराको व्यवस्थापनबारे कर्णालीको प्रयोगशाला परिसरमै अनुसन्धान

कर्णाली प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको एकीकृत कृषि प्रयोगशालाले भवन परिसरमै रहेको बाँझो जग्गामा कर्णालीमा अत्यधिक रूपमा लाग्ने टुटाकिराको व्यवस्थापन बारेमा अनुसन्धान शुरू गरेको छ ।

टमाटर खेतीमा टुटाकिराले धेरै नोक्सानज पुर्‍याउन थालेपछि जैविक विषादीबाट कसरी निर्मूल पार्न सकिन्छ भन्नेमा अनुसन्धान शुरू गरिएको कार्यालय प्रमुख चित्रबहादुर रोकायाले बताए ।

‘यो किराले पात र फल दुवै खान्छ । टमाटरको दानामा प्वाल पारेको तपाईंले देख्नु भएको होला । हो त्यही कालो प्वाल पार्ने किरा नै टुटाकिरा हो । यो कर्णालीका अधिकांश स्थानमा देखिएको छ’, उनले भने, ‘कर्णालीलाई अर्गानिक प्रदेश बनाउने संकल्प प्रदेश सरकारले लिएको हुँदा उक्त किरालाई कसरी जैविक विषादीमार्फत् व्यवस्थापन गर्न सकिन्छ भनेर मैले यो अनुसन्धान गरिहेको छु ।’

माघ ६ गते उनले कार्यालय परिसरमै टमाटरका बेर्ना रोपेका थिए । रोपेको टमाटर भीएल ४४३ जातको हो । यो जातको टमाटरमा पनि टुटाकिराले असर पारेको देखिएको छ । यसको समाधानका लागि हाल निमास्त्र, ब्रम्हास्त्र र अग्नियास्त्रलाई प्रयोग गर्दै आइरहेको कार्यालय प्रमुख रोकायाले बताए ।

यसका अलावा वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १३ को तिलपुरमा जातीय परीक्षण शुरू गरिएको छ । यहाँ पनि जैविक विषादीको प्रयोग गरेर टमाटरमा लाग्ने रोगलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने अनुसन्धान भइरहेको छ ।

वीरेन्द्रनगर-१३ को इन्द्रपुरमा मलखाद र छापो परीक्षण गर्न टमाटर खेती शुरू गरिएको उनको भनाइ छ ।

‘यहाँ पनि टमाटर लगाएका छौं । यहाँ मलखाद र छापोको प्रयोग गरेका छौं’, उनले भने, ‘यो किराको लार्भा जमिनमै हुने भएका कारण तितेपाती, बेथे, निमको पात आदिको छापो राखेर यहाँ खेती शुरू गरिएको हो । यसको प्रयोगका कारण कत्तिको किराले असर गर्छ त्यो पनि अनुसन्धानको विषय हो ।’

अहिले प्रयोगशालामा एक दर्जन बढी विद्यार्थी प्रयोगात्मक परीक्षा दिन भन्दै आइरहेका छन् । उनीहरूसँगै टमाटर खेतीको रोग नियन्त्रणमा कार्यालय प्रमुख रोकाया आफैं खटिरहेका छन् ।

‘सकेसम्म जैविक विषादी प्रयोग गरेर मात्रै टमाटरमा लाग्ने रोग नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ’, रोकायाले भने, ‘किराको उपचार गर्ने तौरतरिका फाइदाजनक भएको खण्डमा सोही अनुसार कृषकलाई आवश्यक तालिम दिने, सुझाव दिने योजना बनाएको छु । यो प्रयोग कति सफल हुन्छ भन्ने कुरा केही महिनामा नै थाहा हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्