
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
तीनकुनेमा राजावादीको आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् ।
गत चैत १५ मा पक्राउ परेका उनलाई बोलाएको बेला उपस्थित हुनेगरी आइतबार रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
उनी उपचारका लागि भारत जाने बताइएको छ ।
००००
सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गत बिहीबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
००००
पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले हाल शिक्षक आन्दोलन र सरकारी उदासीनताका कारण पचासौं लाख विद्यार्थीहरूको भविष्य नै जोखिममा परेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
००००
नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थीहरु नयाँ बानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ परेका छन्।
शनिबार बिहान परीक्षा सञ्चालन भइरहेका बेला नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूले अरूको नाममा परीक्षा दिने उद्देश्यले फरक फोटो टाँस गरिएको प्रवेशपत्र र नागरिकताको प्रतिलिपी प्रयोग गरेका थिए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गोपाल शाहीसमेत छन् । उनी काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव हुन् ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहकै योजनामा व्यवस्थाविरोधी गतिविधि भएको भन्दै एक भएर प्रतिवाद गर्नुपर्ने दबाब प्रमुख दलमाथि बढ्दै गएको छ ।
देखिनलाई राप्रपा, राप्रपा नेपाल र केही राजावादी समूह यो अभियानमा छन् । तर, संंस्थागत हुँदै गएको संविधान, गणतन्त्र र लोकतन्त्रविरोधी अभियान पूर्वराजाकै योजनामा अगाडि बढेको निष्कर्ष प्रमुख दलले निकालेका हुन् । यसैले यस्ता गतिविधिको राजनीतिक रूपले प्रतिवाद गर्नुपर्ने निष्कर्षमा प्रमुख दलहरू पुगेका छन् ।
यसअघि व्यवस्थाविरोधीले दबाब बढाएका बेला शीर्ष नेतालाई सँगै उभ्याएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रमुख दलका शीर्ष नेतासँग बालुवाटारमा गम्भीर वार्ता गरे । यस्तो वार्तामा सत्ता सहयात्री दल मात्रै थिएनन् । पछिल्लो समय दिनदिनै सरकार ढल्ने उद्घोष गरिरहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी भए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबारको प्रदर्शनमा पक्राउ परेकाहरू रिहा भएका छन् ।
प्रदर्शनका क्रममा पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली र्पुयाइएका उनीहरूलाई साँझ छाडिएको एसपी अपिलराज बोहराले जानकारी दिए।
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई नियन्त्रणमा लिएको थियो ।
००००
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२–०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
००००
मुलुकमा पारदर्शिता र जवाफदेहिताको बहस भइरहेको समयमा प्रमुख दलका शीर्ष नेताहरूले जनप्रतिनिधिमूलक थलो संसद्लाई हदैसम्म उपेक्षा गर्ने गरेको पाइएको छ । शीर्ष मात्र नभई दलका दोस्रो तहका प्रभावशाली नेताहरूले समेत संसद् बैठकलाई महत्त्व नदिएको देखिएको छ ।
साना दलका नेता र प्रमुख दलका ‘जुनियर सांसद’हरू भने संसद्को बैठकमा अलि धेरै उपस्थित हुने गरेको पाइएको छ । उनीहरूले नै संसद् बैठकको कोरम र्पुयाइदिने गरेको संघीय संसद् सचिवालयले लोकान्तर डट्कमलाई उपलब्ध गराएको विवरणमा देखिन्छ ।
००००
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा केही दिन देशबाहिर हुने भएकाले कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
००००
साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।
आइतबार नेप्से परिसूचक १६(६८ अङ्कले घटेर २७०६.०४ को विन्दुमा कायम भएको हो ।
००००
चालू आर्थिक वर्षको ९ महिनामा देशको कुल निर्यात ६५.१६ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत मसान्तसम्म) कुल निर्यात ६५.१६ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।
चैत मसान्तसम्म नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।