२९ जेठ २०८३, शुक्रबार

कर्नाटकका पूर्व प्रहरी महानिरीक्षकको घरमै हत्या, श्रीमतीमाथि लाग्यो गम्भीर आरोप

बैशाख ८, २०८२
काठमाडौं
कर्नाटकका पूर्व प्रहरी महानिरीक्षकको घरमै हत्या, श्रीमतीमाथि लाग्यो गम्भीर आरोप

भारत कर्नाटकको राजधानी बेंगलुरुमा राज्यका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाशको शव आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा फेला गरेको छ ।  

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ  । घटनालाई शंकास्पद हत्या मानेर प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

एनडीटीभीको रिपोर्टअनुसार घटना भएका दिन ओम प्रकाशको आफ्नी श्रीमतीसँग भनाभन भएको थियो । भनाभनकै क्रममा श्रीमतीले पहिला उनलाई खुर्सानीको धुलो आँखामा हालिदिएकी थिइन् । त्यसपछि बाँधेर चक्कु प्रहार गरिन् । यतिमात्र होइन, ओम प्रकाशमाथि सिसाको बोतलले समेत आक्रमण गरिएको बताइएको छ ।

६८ वर्षीय ओम प्रकाशको शवमा चोटका धेरै दाग भेटिएको प्रहरीले जनाएको छ, जसले हत्या भएको शंका झनै गहिरो बनाएको छ । 

प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनकी श्रीमतीमाथि शंका जनाए पनि थप अनुसन्धान जारी छ । श्रीमतीले नै हत्या गरेको आधिकारिक पुष्टि भने भएको छैन । प्रहरीले ओम प्रकाशकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएर झण्डै १२ घण्टासम्म सोधपुछ गरेको छ ।

ओम प्रकाश को थिए?
कर्नाटकका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाश एक अनुभवी र सम्मानित प्रहरी अधिकृत थिए । उनी बिहारको चम्पारण जिल्लामा जन्मिएका थिए । 

भूविज्ञानमा एमएससी गरेका उनले पछि भारतीय प्रहरी सेवा (आईपीएस) मा प्रवेश गरेर आफ्नो करिअर शुरू गरेका थिए । सेवा जीवनको शुरूआत उनले हरपनहल्ली (बेल्लारी)मा सहायक प्रहरी अधिक्षक (एएसपी) का रूपमा गरेका थिए । 

त्यसपछि उनी विभिन्न जिल्लामा प्रहरी अधिक्षक (एसपी) को रूपमा कार्यरत रहे । उनले राज्य सतर्कता आयोग, लोकायुक्त लगायतका विभिन्न महत्त्वपूर्ण निकायमा समेत काम गरेका थिए । १ मार्च २०१५ मा उनी कर्नाटकका प्रहरी महानिरीक्षक (डीजीपी) मा नियुक्त भएका थिए । उनको नेतृत्वमा राज्यको शान्ति सुरक्षाका लागि महत्वपूर्ण कामहरू भएका थिए । 

निकट सहयोगीबाटै ज्यानको डर थियो?
न्यूज एजेन्सी पीटीआईको रिपोर्ट अनुसार ओम प्रकाशले केही समयअघि आफ्ना केही निकट सहयोगीहरूबाट ज्यानको खतरा रहेको उल्लेख गरेका थिए । 

प्रहरीले यस घटनामा परिवारकै कुनै सदस्यको संलग्नता रहेको आशंका व्यक्त गरेको छ । साथै, परिवारभित्र सम्पत्तिसम्बन्धी विवाद रहेको विवरण पनि बाहिर आएको पीटीआईले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्