२९ जेठ २०८३, शुक्रबार
सिद्धिलक्ष्मी स्टील्सको ज्यादती : भाग–२

एफएनसीसीआईका भावी अध्यक्षको उद्योगले बिचल्ली पारेको एक मजदूर परिवारको दर्दनाक कथा [भिडियो स्टोरी]

काम गर्दैगर्दा हातका औँला गुमे, घाउ निको नहुँदै श्रीमतीसहित जागरिबाट निकालिए !
बैशाख ८, २०८२
काठमाडौं
एफएनसीसीआईका भावी अध्यक्षको उद्योगले बिचल्ली पारेको एक मजदूर परिवारको दर्दनाक कथा [भिडियो स्टोरी]

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको स्वामित्वमा रहेको सिद्धिलक्ष्मी स्टील्स नवलपरासीमा काम गर्ने एक गरिब मजदुर परिवारको उठीबास लागेको छ ।

यो प्रसंग आफ्नो पुर्ख्यौली पेशा (हजाम) छाडेर २/४ पैसा बढी कमाउने आशामा नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को रामग्राम नगरपालिका वडा नम्बर ६ स्थित स्टील फ्याक्ट्रीमा काम गर्ने अंगदप्रसाद हजाम र उनको परिवारको हो ।

करिब ४० वर्षको हाराहारीमा पुगेका अंगदले फ्याक्ट्रीमा काम गर्ने क्रममा तीनवटा औंला काटिएपछि बाँकी जिन्दगी अपाङ्ग बनेर काट्नुपर्नेछ । मजदुर गरेर आफू, श्रीमती र २ बच्चाबच्चीको पेट पाल्ने गरेका उनलाई उक्त दुर्घटनापछि अमानवीय ढंगले जागिरबाट समेत निकालिएको छ ।

null

यतिमात्र होइन, फ्याक्ट्रीभित्र म्यानेजरलगायत अन्य ५/६ जनालाई खाना पकाएर खुवाउने उनकी श्रीमती अनितादेवी हजाम पनि केही दिनअघि जागिरबाट निकालिइन् ।

दुर्घटनामा परेका आफ्ना श्रीमानको उपचार राम्रोसँग नगरिएको, उपचारका क्रममा आफूले गरेको खर्च नदिएको र श्रीमान अंगदलाई जागिरबाट निकालिएको विषयमा अनितादेवीले उठाएको आवाज म्यानेजमेन्ट तहसम्म पुगेपछि 'न रहे बाँस, न बजे बाँसुरी' शैलीमा उनलाई पनि जागिरबाट निकालिएको हो ।

'अब बच्चाबच्चीको भर्नाको समय पनि आयो, कसरी भर्ना गर्ने होला, कसरी किताब किन्दिने होला ?' अनितादेवीले भक्कानिँदै लोकान्तरसँग भनिन् ।​

nullयसरी शुरू भयो कथा दु:खको कथा

अंगदको परिवार लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित प्रतापपुर गाउँपालिका वडा नम्बर ७ मा रहेको आफ्नो घरमा सामान्य जीवनयापन गरिरहेको थियो ।

पुर्ख्यौली पेशा छाडेर अलिकति बढी कमाइ गर्ने उद्देश्यसहित उनले वरिपरि काम खोजिरहेका थिए । चिनेजानेकासँग भनसुन गरिरहेका थिए ।

अंगदले जम्मा ६ कक्षासम्म पढेका छन् । उनलाई नेपाली भाषा पनि राम्रोसँग बोल्न आउँदैन ।

यसै क्रममा उनले आफ्नो घरभन्दा डेढ/दुई घण्टा टाढा रहेको सिद्धिलक्ष्मी स्टील्समा काम पाइने भन्ने सुने । त्यसै क्रममा उनलाई महिनाको २० हजार पाउने भन्दै गत साल मङ्सिर १६ गतेदेखि सिद्धिलक्ष्मीमा फलामको तार उत्पादन गर्ने सेक्सनमा काम गर्न लगाइयो ।

अंगदलाई आफूलाई काम लगाउने ठेकेदारको नाम पनि राम्रोसँग थाहा छैन । उनलाई आफ्नै चिनेजानेको व्यक्तिले त्यहाँ पठायो, अनि काम फिक्स भयो ।

त्यसपछि फ्याक्ट्रीभित्रका केही ठूलाबडालाई खाना पकाउने मान्छे चाहिएको देखेर उनले आफ्नी श्रीमतीलाई पनि त्यहीँ काम लगाइदिए । अनितादेवी दैनिक ज्यालादारीमा काम गर्थिन् । दुवैजना फ्याक्ट्रीनजिकै डेरा लिएर बस्न थाले ।

null

जागिर गर्ने क्रममा अंगदलाई आफूले नागरिकताको फोटोकपी दिएको याद छ, तर फ्याक्ट्रीले न कुनै नियुक्तिपत्र दियो, न त अरू केही कागज नै । उनको काम चलिरह्यो । मासिक तलबमान तोकिएपनि उनले हाजिरीको हिसाबले पैसा पाए । पैसा उनलाई क्यासमा दिइन्थ्यो ।

काम चलिरहेको थियो, तर डेढ महिनापछि राति २ / सवा २ बजेतिर काम गरिरहेका बेला उनको हात मशिनले तानिरहेको दुईवटा तारको बीचमा फस्यो ।

असैह्य पीडा भएपछि उनले ऐया–ऐया गर्दै च्यापिएको हात तान्न खोजे । उनी सुनाउँछन्, 'मैले सेफ्टी पन्जा लगाएको थिएँ । त्यतिले मात्र मेरो औंला जोगाउन पर्याप्त भएन । तारमा च्यापिएको हात बल्लबल्ल बाहिर त निकालें, तर रगताम्य भइसकेको थियो । पन्जा खोलें, मेरो तीनवटा औंला थिएन ।'

त्यसपछि उनले नजिकै काम गरिरहेको अर्को एकजनालाई आफ्नो हात देखाए । त्यसको केही समयमा सुपरभाइजर आए र उनलाई फ्याक्ट्रीकै गाडीमा हालेर भैरहवास्थित एक अस्पताल पुर्‍याए ।

त्यहाँ उनी ११ दिनसम्म बसे । त्यो खर्च भने आफूले गर्नुपरेन । अनि अस्पतालबाट पट्टी लगाएर श्रीमान्–श्रीमती दुवै आफ्नो डेरामा आए ।

अनितादेवी भन्छिन्, 'डेरामा आएपछि मेरो श्रीमानलाई हाजिर गर्न आउनू भने । शुरूमा दिनको एकपटक मात्र हाजिर गरे पुग्छ भने । केही दिनपछि बिहान ८ बजे र बेलुका ८ बजे दुवै समय हाजिर गर्नुपर्छ भन्न थाले, त्यही अनुसार गर्नुभयो, तर हाजिर गरेको पैसा आएन ।'

त्यो बीचमा प्रत्येक दुई दिनमा एकपटक घाउ ड्रेसिङ गर्न परासी बजार जानुपर्थ्यो । अंगदको हाजिरी छुट्थ्यो । ११ दिन भैरहवामा श्रीमान् कुरेर बसेकी अनितादेवीको तलब पनि काटिएर आयो ।

केही दिनपछि अंगदलाई बोलाएर फ्याक्ट्रीका मान्छेले निको भएपछि मात्र आउनू भने । अस्पतालबाट फर्केपछि लगाएको हाजिरीको पैसा त परै जाओस्, प्रत्येक २ दिनमा ड्रेसिङ गर्दा लागेको खर्चसमेत दिएनन् ।

null

दुर्घटना भएको ३ महिनाभन्दा बढी बितिसकेको छ । अंगद तीनवटा औंला नभएको हात लिएर हिँडिरहेका छन् । घाउ भरिन थालेको छ, तर दुर्घटनाका बेलादेखिको मानसिक तनाव र पीडा थपिएको छ ।

पहिला निकै फरासिला अंगद अहिले निकै कम बोल्न थालेका छन् । अनितादेवीले उपचार गर्दा लागेको थप खर्च, लिन बाँकी पारिश्रमिक र काममा पुनर्बहाली हुनुपर्ने भनेर निरन्तर आवाज उठाइरहेकी छन् । उनको आवाज फ्याक्ट्रीको गेटबाहिरै सीमित छ । भित्रका कोही पनि सुन्न तयार छैनन् ।

अंगद र अनितालाई श्रम कानूनबारे थाहा छैन । कार्यस्थलमा अंगभंग भएमा इन्स्योरेन्स हुन्छ भन्ने पनि थाहा छैन । जागिरसँगै नियुक्तिपत्र पाउनुपर्छ र पारिश्रमिक बैंकमार्फत मात्र भुक्तानी गरिनुपर्ने कानूनी प्रावधान यो देशमा छ भन्ने पनि थाहा छैन ।

अझ अर्को कुरा, अंगद जुन फ्याक्ट्रीमा काम गर्दागर्दै अपांग हुनुपर्यो, त्यो फ्याक्ट्रीको मालिक देशकै ठूलो उद्योगपति हो भन्ने पनि थाहा छैन । आफ्नो साहु भोलि अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरेको उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदैछ भन्ने त थाहा हुने कुरै भएन । 

फ्याक्ट्रीभित्रका 'ठूला मान्छे'ले भने कानूनी अप्ठ्यारो परिहालेमा आफू माथि पर्ने ट्रीक खोजेर बसेका छन् । उनीहरूले अंगदलाई काम लगाएको प्रमाण मेटाएका छन्, अथवा आफैंसँग राखेका छन् ।

बाँकी पैसा दिन्छु भन्दै उपचारको सम्पूर्ण बिल र प्रमाण पनि जबर्जस्ती लिएका छन् । यतिबेला अंगदसँग हस्पिटलमा खिचेका केही तस्वीर छन् र तीनवटा औंला गुमेका हात ।

उक्त फ्याक्ट्रीबाट पीडित अन्य स्थानीयहरू आफ्नै समस्या लिएर बाँचिरहेका छन् । अंगद र उनको परिवारले भोगिरहेकव पीडा हेर्नुबाहेक उनीहरूसँग सहयोग गर्ने अर्को विकल्प छैन ।

यसरी नेपालका एकजना 'प्रख्यात' उद्योगीको कारखानामा काम गर्ने गरिब परिवारको उठीबास लागेको छ ।

null

एक साताअघि अनिताले भनेकी थिइन् - मलाई पनि निकाल्दैछन्

लोकान्तरकर्मी फिल्ड रिपोर्टिङका क्रममा एक साताअघि रामग्रामस्थित सिद्धिलक्ष्मी स्टील्समा पुगेका थिए ।

त्यहाँ, उद्योगबाट निस्केको प्रदूषणले स्थानीयको जनजीवनमा पारेको प्रभावबारे रिपोर्टिङ गर्दैगर्दा कहिल्यै सञ्चारकर्मी र क्यामेरा नदेखेकी अनितादेवीले निकै उत्सुकताका साथ लोकान्तर टीमलाई हेरिरहेकी थिइन् ।

एकजना स्थानीयले भने, 'उहाँको श्रीमान यहीँ काम गरेर औंला गुमाउनुभएको छ । उपचारको खर्च र हाजिर गरेको तलब पनि दिएको छैन ।'

त्यसपछि कुरा सुनिने आशामा अनितादेवी केही नजिक आएर आफ्नो कुरा राख्न खोजिन् । आफ्नो फोनमा रहेका अपांग श्रीमानका केही थान तस्वीरहरू देखाइन् ।

केही टाढा रहेका श्रीमानलाई फोन गरेर बोलाइन् । उनीहरूसँग गरिएको कुराकानीको भिडियो हामीले यही सामग्रीका साथ राखेका छौं ।

null

अनितादेवी आफ्ना कुरा हक्कीसँग राख्न सक्ने महिला हुन्, अंगदभन्दा अलि बढी आत्मविश्वासी पनि । उनले खाना पकाउने जागिरको परवाह गरिनन् र सिधा–सिधा आफ्नो श्रीमानले पाउनुपर्ने क्षतिपूर्तिबारे क्यामेरामा बोल्न तयार भइन् ।

बोल्दै जाने क्रममा उनले भनिन्, 'सर, २/३ दिनमा मलाई पनि कामबाट निकाल्छन् होला ।'

यति भन्दै गर्दा उनको अनुहार मलिन भएको थियो, तर श्रीमानको हकहितबारे बोलेकै कारण जागिरबाट निकालिनु परे पनि त्यसलाई सामना गर्ने आत्मविश्वास भने झल्किन्थ्यो ।

पढ्नुहोस्, यो पनि :

सिद्धिलक्ष्मी स्टील्सको लापरवाहीले खोलामा बग्न थाल्यो रसायन, स्थानीयको उठीबास [भिडियो स्टोरी]

लोकान्तरकर्मी काठमाडौं फर्किएको पर्सिपल्ट बिहान उनले फोन गरेर भनिन्, 'सर, पैसा दिन्छु भनेर हिजो बोलाको थियो, दिएन ।' यति भनेर फटाफट फोन राखिन् । यताबाट कुनै जवाफको अपेक्षा गरिनन् । शायद, उनलाई कुनै आश्वासनको आवश्यकता छैन ।

अनि त्यसको भोलिपल्ट उनको अर्को फोन आयो– 'सर, मलाई पनि भोलिबाट नआउनू भने ।'

के भन्छन् फ्याक्ट्रीका 'एचआर म्यानेजर' रानाभाट ?

हामीले अंगदलाई रोजगारीबाट निकालिएको र उपचार खर्च नदिएकोबारे फ्याक्ट्रीको मानव संशाधन हेर्ने नरेश रानाभाटलाई सोधेका थियौं, 'काम गर्दा गर्दै अंगभंग भएकालाई उपचार खर्चसमेत नदिएर रोजगारीबाट किन निकाल्नुभयो ?'

बिडम्बना के भने, उनलाई घटनाबारे अलिअलि मात्र थाहा रहेछ । उनले भने, 'यसबारे बुझ्नुपर्छ । मलाई त्यति धेरै थाहा छैन । उसलाई यहाँ काममा लगाउने ठेकेदारले उपचार म गर्दिन्छु भनेको थियो । जागिरबाट निकालिएकोबारे बुझ्नै पर्छ ।'

रानाभाटको यो भनाईले सिद्धलक्ष्मी स्टील्सको गैर-जिम्मेवारीपन झल्काउँछ । मानव संशाधन हेर्ने व्यक्तिलाई नै काम गर्ने मजदूरबारे थाहा नहुनु लाचारी मात्र होइन, अमानवीयता पनि हो । 

'२/३ लाख खर्च भएको भन्दै कागज आएको छ, त्यति धेरै त खर्च हुनु नपर्ने, यसबारे बुझ्नै पर्छ, मलाई सबै थाहा भएन,' रानाभाटको भनाइ छ ।

अंगदको स्थायी बासस्थान प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरेन्द्र यादव पनि यस घटनाबारे धेरथोर जानकार छन् ।

'केही दिनअघि अंगदसँग परासीमा भेट भएको थियो,' यादवले लोकान्तरसँग भने, 'उपचार र काम गरेको पैसा मागिरहेको छु भन्थ्यो । त्यसपछि के भयो थाहा छैन ।'

श्रम ऐन, २०७४ को धज्जी !

नेपालको श्रम ऐन, २०७४ ले प्रत्येक मजदूरलाई नियुक्तिपत्र, कार्यस्थलमा सुरक्षा उपकरण र दुर्घटनाको अवस्थामा इन्स्योरेन्स वा क्षतिपूर्ति पाउने अधिकार सुरक्षित गरिदिएको छ ।

तर, सिद्धिलक्ष्मी स्टील्समा अंगदलाई न त नियुक्तिपत्र दिइयो, न त पर्याप्त सुरक्षा उपकरण नै ।

उनको दुर्घटना मेसिनको असुरक्षित अवस्था र तालिमको कमीले भएको हो । यस्ता घटनाका लागि मजदूरले जिल्ला श्रम कार्यालय वा ट्रेड युनियनमार्फत उजुरी गर्न सक्ने प्रावधान छ, तर अंगदजस्ता धेरै मजदूरलाई यस्ता कानूनी प्रावधानबारे जानकारी नै छैन ।

अंगदको कथा सिद्धिलक्ष्मी स्टील्समा कार्यरत मजदूरहरूको एक्लो समस्या होइन । लोकान्तरको सम्पर्कमा आएका अन्य केही मजदूरले पनि आफूलाई भनेको समयमा तलब नदिई अमानवीय ढंगबाट काममा लगाएको गुनासो गरेका छन् ।

नवलपरासीस्थित अन्य धेरै फ्याक्ट्रीहरूमा पनि यस्तै असुरक्षित कार्यस्थल र शोषणका गुनासा छन् । नेपाल ट्रेड युनियन महासंघको एक तथ्यांकअनुसार, देशभरका ६० प्रतिशतभन्दा बढी मजदूरले न्यूनतम श्रम अधिकार पनि पाएका छैनन् भने ७० प्रतिशत भन्दा बढी फ्याक्ट्रीमा न्यूनतम सुरक्षा मापदण्ड पालना भएको छैन । अंगदको कथाले यस्ता हजारौँ मजदूरको पीडालाई प्रतिनिधित्व गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार नेपालमा प्रत्येक वर्ष करिब २ हजार मजदूर कार्यस्थल दुर्घटनामा पर्छन्, जसमध्ये धेरैले उचित क्षतिपूर्ति पाउँदैनन् ।

सिद्धिलक्ष्मीको ज्यादती र अमानवीय कामबारे थप रिपोर्ट हामी अर्को अंकमा प्रकाशित गर्नेछौं ।

हेर्नुहोस्,भिडियो :

salt training

कमेन्ट गर्नुहोस्