सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्रीको राजीनामाबारे सरकारलाई जानकारी नभएको बताएका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री गुरुङले विद्या भट्टराई शिक्षामन्त्रीबाट राजीनामा दिएकोबारे सरकारलाई आजका दिनसम्म जानकारी नभएको बताएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाएको भए सरकारलाई थाहा हुने, क्याबिनेटमा छलफल हुने मन्त्री गुरुङले बताए । यद्यपि, मन्त्रीको राजीनामा स्वीकृत गर्ने काम प्रधानमन्त्रीकै रहेको उनको भनाइ छ ।
‘आजका दिनसम्म उहाँले (विद्या भट्टराईले) राजीनामा दिएकोबारे हामीलाई जानकारी छैन । झन्डै एक महिनादेखि उहाँ बिरामी हुनुहुन्छ । त्यसकारण दिनदिनै मन्त्रालयमा काम गर्न नसक्ने परिस्थिति निर्माण भएको होला भन्ने लाग्छ मलाई’, मन्त्री गुरुङले भने ।
तर, भट्टराईले मन्त्री निवास समेत छाडिसक्नुभएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री गुरुङले भने, ‘कामै नगरेपछि किन क्वार्टरमा बसिराख्नु भनेर होला !’
मन्त्री गुरुङले विद्यालय शिक्षा विधेयक संसद्को बर्खे अधिवेशनबाट पारित हुने पनि बताए । सरकारले त्यसका लागि निर्णय गरिसकेको भन्दै मन्त्री गुरुङले शिक्षकहरूले जारी आन्दोलन स्थगित गर्नुपर्ने बताए ।
अहिले विद्यालय भर्ना, परीक्षा र उत्तरपुस्तिका जाँचको समय भएकाले आन्दोलन स्थगित गरेर विद्यालय फर्किन मन्त्री गुरुङले आग्रह गरे ।