
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीहरुको हित हुने बताएका छन् ।
यल सितोरियो कराते डोद्वारा आज नेपाल कराते एकेडेमी सातदोबाटो ललितपुरमा आयोजित प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिता २०८२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले राणाशासन र पञ्चायतकालमा जनताको छोराछोरीलाई मार्सल आर्टका खेल प्रतियोगितामा खेल्ने अवसर नभएको बताए ।
“नेपालको खेलकुदमा नयाँ पुस्ताले लोकतान्त्रिक व्यवस्थामा भएको महत्वपूर्ण व्यवस्थालाई भुल्नुहुँदैन, लोकतान्त्रिक व्यवस्थामा मात्रै खेलाडीको हित भएको देखिन्छ, विसं २०४६ अगाडि मार्सल आर्टका खेल नेपाली सेना र प्रहरीले मात्रै खेल्न पाउथे, सर्वसाधारणले खेल्न पाउने अवसर नै थिएन, लोकतन्त्र आएपछि मात्रै खेलाडी र खेलकुदको विकासमा काम भएको हो”, उपप्रधानमन्त्री सिंहले भने ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम स्रोत र साधनका बाबजुद पनि नेपाली खेलाडीहरुले विकसित मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गरेर स्वर्ण पदक दिलाउन सकेको भन्दै खेलाडीहरुको प्रशंसा गरे ।