
साँखु १४ मंसिर- दोस्रो चरणको चुनावी माहोलले यतिबेला मतदाता र राजनीतिकि दललाई व्यस्त बनाएको छ । राजनीतिक दललाई भोट माग्न भ्याइनभ्याइ छ भने मतदातलाई उनीहरुको कुरा सुन्न ।
देशको राजधानी काठमाडौंका विभिन्न गाउँहरुमा समेत यतिबेला चुनावी माहोल छ । यही माहोलमा बुधबार लोकान्तरकर्मी पुग्दा महानगरपालिकासँगै जाडिएको शंखरापुर नगरपालिकामा पुग्दा अधिकांश घरहरुमा विभिन्न राजनीतिक दलका झण्डा तथा विभिन्न चुनाव चिन्ह अंकित ध्वजापताका टाँगिएका देखिन्थे ।
हिलाम्य र धुलाम्य सडक बरिपरी देखिने क्षेत्र नम्बर २ का मतादाताहरुले उम्मेद्वार चुनावमा गफ लाएर भोट मागेर बेपत्ता हुने गरेको गुनासो गरे ।
बुधबार मध्यान्ह निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने शंखरापुरको वडा नम्बर ६ र ७ का विभिन्न टोलहरुमा पुग्दा प्रतिनिधिसभाका एक बलिया उम्मेद्वारका रुपमा देखिएका वाम गठबन्धनबाट नेकपा एमालेका माधव कुमार नेपाल पनि घरदैलोमा व्यस्त थिए ।
नेपालले वडा नम्बर ६ र ७ का केही मतदातालाई बोलाएर वडा नम्बर ७ मा पर्ने साँखु वसपार्क महादेवस्थानमा चुनावी र्काक्रममा अब पूर्व प्रधानमन्त्रीसमेत रहेका नेतपालले साँखुबासीलाई छोडेर कही नजाने भन्दै किलो गाडेर बस्ने बताए । नेता नेपालले दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपनि यो क्षेत्र छाडेका थिए । जहाँ उपचुनावमा नेपाली कांग्रेसले जीत निकालेको थियो ।
नेता नेपालले शंखरापुरको मौलिक इतिहासबारे सरसर्ती भने, र स्मार्ट सिटी बनाउने आश्वान दिए । उनले भने थिए, ‘शंखरापूरको मौलकपन जोगाई ठूलो शंखको आकारमा निर्माण गरी सुन्दर नगर बनाउने हो ।’
उनले जनताका अगाडि नै नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठलाई निर्देशनको शैलीमा भने, ‘अहिले नै इञ्जिनियर बोलाएर सिधै भन्नुस्, यो नगरपालिकालाई नै ठूलो शंखको आकारमा निर्माण गर्ने हो, सजिलो छैन । माथि हेलिकप्टरबाट हेर्दा नै शंख आकारको शंखरापुर चिनिनेछ ।’ उनले थपे, ‘ नगरपालिकाको चारवटा कुनामा विभिन्न मुर्ति बनाइनेछ, एउटा डाँडामा एक सय फिटको शंखको मुर्ति, अर्को डाँडोमा भृकुटीको मुर्ति, तेस्रो डाँडोमा मञ्जुश्रीको मुर्ति र चौथो डाँडामा भृकुटी तिब्बत जाँदै गरेको मूर्ति बन्नेछ ।’

नेपालले यो पाली मात्रै हैन त्यसपछिको ५ वर्षका लागि पनि बुधबार नै भोट माग्दै भने, ‘अहिले भोट दिएर जिताउनुभयो भने आगामी पाँच वर्षमा शंखरापुरका सबै सडकहरुलाई चौडा बनाएर, पिच गर्दै व्यस्थित गरिनेछ र त्यसपछिका पाँच वर्षका लागि पनि तपाईहरुले जिताउनु हुनेछ ।’
उनले मत हाल्न सिकाएको शैलीमा जनताहरुलाई भने, ‘म प्रतिनिधिसभामा उठेको छु, हरियो रंगको तपाईहरुले पाउनुहुनेछ मतपत्र, त्यहाँ सुर्यको चिन्ह हुनेछ, त्यहाँ छाप लगाउनुपर्छ । त्यसपछि अर्को मतपत्र पाउनुहुनेछ, त्यो कालो रंगको हुनेछ, त्यहाँ पनि सुर्यलाई छाप लगाउनुपर्छ ।’
समानुपातिकमा वामगठबन्धनको अर्को पार्टी माओवादी केन्द्रका लागि समेत भोट माग्दै नेपालले थपे, ‘फेरी अर्को मतपत्र पाउनुहुनेछ रातो रंगको, त्यो मतपत्र समापातिकको हुनेछ, त्यसको माथि प्रतिनिधिसभा हुनेछ र तल
प्रदेशसभा लेखेको हुनेछ, त्यो मतपत्रमा सुर्य चिन्ह पनि हुनेछ, गोलाकारभित्र हँसिया हतौडा पनि हुनेछ, तपाइलार्ई दुईटा चिन्हमा जुनमा मन लाग्छ त्यहाँ छाप लगाउनुहोला । तर दुईटैमा नलगाउनुहोला ।’
उनले पुरानो भनाई ‘घिउ कहाँ पोखियो आफ्नै भातमा’ भन्ने प्रसँग झिक्दै भने, ‘सूर्यमा लगाउनेले बिर्षेर हँसिया हतौडामा लगाउँदा केही फक पर्दैन, किन कि अहिले वामगठबन्धन छ ।’
उनको कुरा सुनेर समर्थनसहित परर ताली बजाएका अधिकांश महिला मतादाताहरुले नेपाल हिँडेपछि गफ मात्रै भएको टिप्पणी गर्न भ्याए ।
‘
कस्ता उम्मेदवार जिताउनुहुन्छ ?’
लोकान्तरकर्मीको जिज्ञाशामा मतदाता भन्छन्, ‘गफ यस्तै गर्छन्, काम भने केही गर्दैनन् ।’
शंखरापूर वडा नम्बर ७ का शत्रुघन श्रेष्ठले आफ्नो घर अगाडिको धुलाम्य सडक औंल्याउँदै भने, ‘यो हेर्नुस न सडक, बाहिर निस्की नसक्नु छ, गफ भने ठूला गर्छन्, सामान्य कामहरु समेत गर्दैनन् ।’ उनले थपे, ‘मैले मेरो घरको लागि केही माग्ने हैन नि, सडक बनाइदिनुपर्यो । तर, सबै आएर यो सडक मैले बनाएको हो नि भन्छन्, यिनीहरुको कुरा बुझिनसक्नु छ ।’
शंखरापूर वडा नम्बर ६ की रचना श्रेष्ठ भन्छिन्, ‘भोट माग्न आउँदा सबै थोक गर्दिउँला भन्छन्, तर केही गर्दैनन, अब जसले जिते पनि यहाँको बाटोघाटो निर्माण गरिदिनुपर्यो । उनी थप्छिन्, ‘हाम्रो नगरपालिका घोषणा गरिएको छ, यसलाई मात्रै विकास भनेर भएन, नगरपालिका जस्तो बनाइदिनुपर्छ, नत्र जसको सरकार बने पनि हामीलाई के फाइँदा हुन्छ !’
यस्तै शंखरापुर ७ कै अर्का मतदाता शम्भुदास श्रेष्ठ भन्छन्, ‘भोट माग्न आउँदा भन्ने कुरा २५ प्रतिशत पनि पत्याउन सकिदैन, तर जसले जिते पनि यहाँबाट कोही जित्नेछ, यहाँको व्यवस्थापनमा काम गर्नुपर्यो ।’
उनले २०७२ मा आएको भूकप्पका कारण बिग्रेर अस्तव्यस्त बनेको ढल र बिजुलीको तारहरु देखाउँदै थपे, ‘यो ढल हेर्नुस्, यी तारहरुको अवस्था हेर्नुस् त, लाज मर्नु छ ! नेपालको राजधानी काठमाडौंमै भूकम्प गएको ३ वर्ष पुग्न लाग्दा समेत बनाउन सकिएको छैन, यी कुरा तर्फ ध्यान दिनुपर्छ, नत्र जसले जिते पनि उस्तै त हो नि हामीलाई ।’

शंखरापूर वडा नम्बर ७ मै भेटिएकी अर्की मतदाता नविना श्रेष्ठले पनि नेताहरु भोट माग्दा मात्रै नजिक हुने गरेको गुनासो गर्दै लोकान्तरसँग भनिन्, ‘नेताहरु भोट माग्छन् जित्छन्, कहिले काम गरेनन्, भुकम्पका कारण भत्किएका घर त बनेका छैनन्, यसको व्यवस्थापन नै सबै भन्दा पहिले गर्नुपर्छ ।’
शंखरापूरमा बाहिर चुनावी रौनक देखिए पनि भित्रभित्रै कामै नगर्ने नेतालाई के भोट हाल्नु, भोटै हाल्नुहुँदैन भन्ने मतादाताहरु पनि भेटिए ।
काठमाडाैं क्षेत्र नम्बर दुर्इमा नेपाली कांग्रेसले दीपक कुइकेललार्इ उम्मेदवार बनाएको छ । कुइकेलले माधव नेपालार्इ पराजित गर्ने दाबी गरेका छन् । २०७० को चुनाव जितेपनि यो क्षेत्र छाडेका कारण माधव नेपालर्इ यहाँका मतदाताले पराजित गर्ने उनको दाबी छ ।
स्थानीय तहको मतपरिणाम अनुसार वाम गठवन्धनका माअोवादी र नेकपा एमालेले पाएको मत नेपाली कांग्रेसले पाएको भन्दा धेरै छ ।