२९ जेठ २०८३, शुक्रबार

शिक्षक आन्दोलनबारे शंकर पोखरेलको टिप्पणी- अब हठ त्यागेर विद्यालय फर्किने वातावरण बनाऔं

बैशाख १२, २०८२
काठमाडौं
शिक्षक आन्दोलनबारे शंकर पोखरेलको टिप्पणी- अब हठ त्यागेर विद्यालय फर्किने वातावरण बनाऔं

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशसँगै अब हठ त्यागेर विद्यालयमा फर्किन शिक्षकहरूलाई आग्रह गरेका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै पोखरेलले अदालतले बालबालिकाको भविष्यबारे गम्भीर चिन्ता गर्दै आदेश दिएको उल्लेख गर्दै अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्ने बताएका हुन् । 

'कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि मात्र हो भनेर तर्क गरिरहनुभएको छ। हो, आदेश त सरकारलाई हो तर चिन्ता विद्यालय बन्द भएको कुराप्रति हो,' उनले लेखेका छन्, 'अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौं ।'

पोखरेलले सरकार र राजनीतिक दलहरूले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट ल्याउने तयारी गरिरहेका बेला शिक्षक नेताहरूले जिद्दी गर्दै आन्दोलनलाई निरन्तरता दिएकोप्रति असन्तुष्टि जनाएका छन्।

सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको उनको भनाइ छ । 

यसअघि सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा आन्दोलनरत शिक्षकलाई  तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको थियो । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन भनेको हो । अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।

सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारलाई समेत भनेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्