काठमाडौं, ६ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । प्रचण्डले साना दुई दलका दुई नेतालाई समेटेर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउन लागेका छन् । खड्काले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउँदै छन्, आजको नयाँ पत्रिकामा खबर छ ।
मधेसी दललाई पनि समेट्ने र राप्रपालाई थप मन्त्रालय दिने गरी मन्त्रिपरिषद् विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डको छ । संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक पारित गराउन प्रचण्डले विधेयकको खुलेर समर्थन नगरेका दलका नेतालाई मन्त्री बनाउन लागेका हुन् ।
प्रचण्डले राप्रपा अध्यक्ष कमल थापालाई अघिल्लो सरकारमा पाएकै जिम्मेवारी दिने गरी र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सरकारमा सहभागी हुन औपचारिक प्रस्ताव राखेका थिए ।
सुरुमा थापा र गच्छदारले प्रधानमन्त्रीलाई सकारात्मक जवाफ दिएका थिए । तर, बिहीबार हुने मन्त्रिपरिषद् विस्तारमा राप्रपा र फोरम लोकतान्त्रिक पार्टीका कुनै नेताहरू छैनन् । प्रधानमन्त्री दुवै दलसँग छलफलमै छन् ।
‘प्रधानमन्त्री मधेसकेन्द्रित दल र अन्य दलका तर्फबाट पनि सरकारमा सहभागी गराउने र सरकारलाई बलियो बनाएर निर्वाचनमा जाने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘छलफल अझै जारी छ ।’