
इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका इलामका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् ।
अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।
इलाम नगरपालिकाले समेत आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए ।
इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।
इलाम नगरपालिका–५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताए ।
लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए ।
हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए ।