३१ जेठ २०८३, आइतबार

चुनावको परिणाम नआउन्जेल वामगठबन्धनको बहुमत अाउँदैन भन्ने छुट छ - विष्णु पौडेल

मंसिर १४, २०७४
चुनावको परिणाम नआउन्जेल वामगठबन्धनको बहुमत अाउँदैन भन्ने छुट छ - विष्णु पौडेल

रुपन्देही, १४ मंसिर-रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेकपा एमालेका उम्मेद्धवार विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुलाई लोकतन्त्रको पाठ पढाउने योग्यता नराख्ने आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । ‘मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्तिले वामपन्थीहरुको बहुमत आए अधिनायकवाद आउँछ भन्नु निर्धो तर्क हो, प्रधानमन्त्री देउवाले हामीविरुद्ध लगाएका आरोप उहाँका परिवारका सदस्यहरुले पनि पत्याएका छैनन् । अरुको कुरा छोडिदिनुहोस्, जनताको कुरा त झनै पर जाओस् –उनले भने।

उनले आफूहरु सच्चा लोकतन्त्रवादी शक्ति भएको समेत जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री देउवाको आरोपमा कुनै सत्यता छैन, यो त निरिह तर्क हो, उहाँका परिवामा गएर सोध्नुहोस्, उहाँका परिवारले समेत पत्याउँदैनन्, विचरा तर्क, निरिह तर्क हो, हामी लोकतन्त्रको लागि लडेका शक्ति हौं, ईतिहाँसका कुन–कुन कालखण्डमा उहाँले राजाको कृपाले के गर्न खोज्नुभयो, पछि उनै राजाले उनलाई अक्षम घोषणा गरेर हटाईदिए, यो दुनियाँलाई थाहा भएको कुरा हो।’ उनले पटक–पटक दोहोर्याए भने,‘हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता कांग्रेसले राख्दैन्, न त देउवासँग नै त्यो योग्यता छ।’

नेता पौडेलले मुलुकमा यतिवेला जनताले सुख, समृद्धि र विकास चाहेको उल्लेख गरे । उनले थपे,‘समृद्धिको लागि हामी सरिक छौं । हामी कुशल नेतृत्व लिएर छिट्टै सरकारमा आउँदैछौं ।’

वामपन्थीहरुले अब अन्य लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य नगर्ने हो भन्ने एक प्रश्नमा उनले भने,‘सहमति, सहकार्य र एकता हुँदैजान्छ, डेमोक्रेसीमा सहमति भनेको जनताको चाहना अनुसार हुन्छ, उनीहरुको चाहनाको जगमा बसेर सहमति खोजिन्छ।’

उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धन अहिले मुलुकमा राजनीति अस्थिरताको अन्त्यको लागि लागिपरिरहेको बताए । पौडेलले थपे,‘हामी बुहमतको सरकार बनाउन जाँदैछौं । संभवत दुई तिहाईको सरकार हामी बनाउँदैछौं, जनताले चाहेका अनुसार विकासका कार्यक्रमहरु अबको सरकारले अघि बढाउँछ, त्यसका आधारमा सबैलाई गोलबन्द गर्छौं ।’

एमाले र माओवादी केन्द्रले नै राजतन्त्र विरुद्धको आन्दोलन अगुवाई गरेको उल्लेख गर्दै उनले भने,‘संविधान निर्माणको लागि हामीली अगुवाई गरेका हौं, संकटका समाधानको लागिह हामीले अगुवाई गरेको कुरा देश र जनतालाई थाहा छ, जनमुखी सरकार सञ्चालन गर्न सक्ने शक्ति एमाले र माओवादी नै हो, त्यसैले हामीलाई यो निर्वाचनमा जनताले अत्यधिक बुहमत दिन चाहनुभएको छ ।’

वामपन्थीहरुले दुई तिहाई परै जाओस् बहुमत पनि ल्याउन सक्दैनन् भनेर कांग्रेसका नेताहरुले आरोप लगाएका छन् नि भन्दै सोधेको अर्को प्रश्नमा पौडेलले भने,‘कांग्रेसको आरोप झुटो हो, चुनावको परिणाम नआउन्जुलेसम्म यो भन्ने छुट छ, बाम गठबन्धनहरुको बहुमत आउँदै भनेर कांग्रेसीहरुले भन्दा राहत मिल्ला तर हामी बुहमत ल्याउँछौं ।’

कांग्रेसप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता पौडेलले भने,‘कम्युनिष्टहरुले के अब कांग्रेसको शासन स्थापित गर्नुपर्ने हो र ? यो संविधान हामीले निर्माण गरेका छौं, यो लोकतान्त्रिक छ, अग्रगामी छ, जनमुखी छ । यो संविधानको रक्षा, प्रयोग र कार्यान्वयन हामीले गर्छौं । यसको प्रयोग गर्दा तानाशाही हुन्छ र ?’

salt training

कमेन्ट गर्नुहोस्