२४ जेठ २०८३, आइतबार

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव​

बैशाख १५, २०८२
काठमाडौं
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न कांग्रेसलाई चेम्बरको सुझाव​

नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न सत्तारुढ दल नेपाली कांग्रेसलाई सुझाव दिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा चेम्बरले औद्योगिक एवं व्यापारिक क्षेत्रमा देखिएका समस्या एवं सुधारको पहल सहित विभिन्न सुझाव दिएको हो ।

चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मलहोत्राले चेम्बरले दिएको सुझाव कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।

उद्यमी व्यवसायीहरूको मनोबल खस्किनुको पछाडि पुराना समस्याहरूको बोझ नै प्रमुख कारण रहेकाले लगानीमैत्री वातावरणका लागि नीतिगत सहजीकरण हुनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

‘निजी क्षेत्रको आर्थिक जोखिम बहन क्षमता अत्यन्तै न्यून भएकाले थप जोखिम लिएर नयाँ उद्यम व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिन सकिने अवस्था छैन,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन चालू पुँजी कर्जा निर्देशिकालाई खारेजी गरिनुपर्ने चेम्बरको सुझाव छ ।​

चालू पुँजी कर्जा निर्देशिकामा रहेका जटिल प्रावधानका कारण बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम अधिक भए पनि कर्जा विस्तार हुन नसकेको कार्यवाहक अध्यक्ष मल्होत्राले बताए । 

व्यक्तिले घरजग्गा तथा अपार्टमेन्ट खरिद गर्दा आयस्रोतको विद्यमान झन्झटिलो व्यवस्थामा सहजीकरण गरिनुपर्नेमा समेत उनले जोड दिए ।​

खस्किँदै गएको घरजग्गा व्यवसायमा सुधार गर्न विदेशी नागरिकलाई पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था आगामी बजेटमा समावेश गर्नुपर्नेमा समेत चेम्बरले कांग्रेसलाई सुझाव दिएको छ ।

यसैगरी कृषिमा परिनिर्भरता घटाउन लगानीमैत्री वातावरण, उत्पादनमुखी नीतिको व्यवहारिक कार्यान्वयन गरिनुपर्ने चेम्बरको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्