१० असार २०८३, बुधबार

सोक्लामा चट्टान आरोहण महोत्सव हुने

बैशाख १५, २०८२
दोलखा
सोक्लामा चट्टान आरोहण महोत्सव हुने
फाइल फोटो

दोलखाको सोक्लामा चट्टान आरोहण महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिका– २ मा चट्टान आरोहण महोत्सवको तेस्रो सँस्करण आयोजना गर्न लागिएको हो ।​

सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा साहसिक चट्टान आरोहणको हबको रूपमा सोक्ला उपत्यलाई  प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गर्न लागिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र विभिन्न स्थानीय तहको सहकार्यमा यही वैशाख २० र २१ गते चट्टान आरोहण महोत्सव हुन लागेको हो । 'साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा चट्टान आरोहण थालिएको हो,' उनले भने, 'सोक्ला र चक्पा क्षेत्रमा गुमडाँडाको भिर पर्छ । यही प्राकृतिक चट्टानलाई आरोहण गन्तव्य बनाउन महोत्सव आयोजना गरेका हौं ।'​​

सोक्ला र चक्पाको भिरमा आयोजना गरिने चट्टान आरोहणका लागि बाटो तयार गरिएको छ । यस वर्ष चट्टान बाटो सय मिटरको उचाइमा पुर्‍याउने लक्ष्य रहेको समाजका अध्यक्ष पाख्रिनले बताए ।

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खला हेर्न तथा धार्मिक अध्ययन अनुसन्धानका लागि प्रसिद्ध छ ।​​​

माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेको छ । सो अवसरमा चट्टान आरोहण प्रतियोगिता गराइने छ ।

सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समाजका अध्यक्ष पाख्रिनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्