
प्रहरीद्वारा एक लाख रूपैयाँ इनाम तोकिएका एक ‘अपराधी’ मुठभेडमा मारिएका छन् ।
भारतको मैनपुरी जिल्लाको एलाउ थाना क्षेत्र अन्तर्गत तारापुर कट पुल नजिक भएको मुठभेडमा हातरसका जितेन्द्र उर्फ जीतु प्रहरीसँगको मुठभेडमा मारिएका हुन् ।
गोली लागेर गम्भीर घाइते भएका जितेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटना जानकारी पाएपछि मैनपुरीका प्रहरी अधीक्षक (एसपी) गणेशप्रसाद साहा घटनास्थलमा पुगेर विशेष कार्यदल (एसटीएफ)बाट घटनाको विस्तृत जानकारी लिएका भारतीय सञ्चारमाध्यमलले जनाएका छन् ।
एसपी साहाका अनुसार जितेन्द्र एक लाख रूपैयाँ इनामी अपराधी थिए। उनको शंकास्पद गतिविधिको सूचना पाएपछि प्रहरीले उनलाई रोक्ने प्रयास गरेको थियो । तर, उनले फायरिङ शुरू गरेपछि आत्मरक्षाका लागि प्रहरी र एसटीएफले पनि जवाफी फायरिङ गरेका थिए ।
फायरिङको क्रममा जितेन्द्रलाई गोली लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र त्यहाँबाट थप उपचारका लागि रेफर गरिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार जीतु हातरस जिल्लामा भएको एक हत्याकाण्डका अभियुक्त थिए । उनी फरार अवस्थामा थिए। उनलाई पक्राउ गर्न नसकेपछि राज्य सरकारले एक लाख रूपैयाँको इनाम तोकेको थियो।
प्रहरीले उनको साथबाट अवैध ३२ बोरको पेस्तोल, थुप्रै गोलीका खोका, गोली र मोटरसाइकल बरामद गरेको जनाएको छ ।
हातरस जिल्लाको हातरस जंक्शन प्रहरी चौकीमा जितेन्द्रविरुद्ध हत्या, हत्या प्रयास, लुटपाटसहितका गम्भीर अभियोगमा मुद्दा दर्ता छन् ।