
गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका विभिन्न विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल जारी छ ।
प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दश वटा विधेयक विषयगत समितिमा हाल दफावार छलफलका क्रममा रहेका छन् । अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आजदेखि औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल सुरु भएको जानकारी दिए ।
सभापति अर्यालका अनुसार अर्थ तथा विकास समितिमा खानी तथा खनिज, घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयक पनि दफावार छलफलका क्रममा रहेको छ ।
विधेयक अधिवेशनका रूपमा लिइने प्रदेशसभाको हिउँदे अधिवेशनबाट दश वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा लगिएका थिए ।