
हाल बन्द भएको अमेरिकी आर्थिक सहयोग कार्यक्रम यूएसएडको रकम विदेशमा बस्ने पाकिस्तानी नागरिकको पहलमा स्थापित ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलभमेन्ट’ (एचएचआरडी) नामक गैर सरकारी संस्थामार्फत् दूरूपयोग भएको अमेरिकी संसद्को विदेश मामिला समितिले दाबी गरेको छ ।
मानवीय सहयोगका लागि भन्दै यूएसएडले दिएको आर्थिक अनुदानबाट आतंकवादी समूहले बढी लाभ लिएको अमेरिकी संसद् हाउस अफ रिप्रेजेन्टिभस अन्तर्गतको फरेन अफेयर्स कमिटीले सन् २०२३ मा निष्कर्ष निकालेको हो ।
समितिका सभापति माइकल टी. म्याककुल अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीलाई लेखेको पत्रमा यूएसएडले दिएको अनुदान रकम आतंकवादी र अतिवादी समूहसँग जोडिएको थाहा पाउँदा आफूलाई गहिरो चिन्ता र आश्चर्य लागेको उल्लेख छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्प प्रशासनले यूएसएडको रकम दुरूपयोग भएको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरिसकेको छ ।
एचएचआरडीले पाकिस्तानी आतंकवादी संस्था लश्कर–ए–तैयवालाई सहयोग गरेको रिर्पोट अमेरिकी संसद्मा पुगेको थियो । त्यसैका आधारमा छानबिन गरेर अमेरिकी संसद्को विदेश मामिला समितिले अमेरिकी करदाताको रकम आतंकवादी समूहले लाभ लिएको निष्कर्ष निकालेको हो ।
सन् २०२१ अक्टोबरमा यूएसएडले एचएचआरडीलाई १ लाख ११ हजार डलर अवार्ड गरेको थियो । सो रकम दुरुपयोग भएपछि अमेरिकी संसद्को समितिले मे २०२२ मा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीलाई पत्राचार गरेर सोधेको थियो ।
आतंकवादी संस्था लश्कर–ए–तैयवाको शाखा टीआरएफले यही अप्रिल २२ मा भारतको काश्मिरमा हिन्दु पर्यटकलाई छानीछानी गोली हानेर हत्या गरेको थियो । जसमा नेपाली नागरिक सुदीप न्यौपानेसमेत छन् । सुदीप न्यौपानेको हत्याको विरोधमा विभिन्न संगठनले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
त्यसरी यूएसएडको रकम दुरुपयोग गरेको आरोप लागेको संस्था एचएचआरडी नेपालमा समेत सक्रिय छ ।
यसबारे बुझ्न काठमाडौंको महाराजगञ्जस्थित कार्यालय रहेको संस्थामा सम्पर्क गर्दा अधिकारीहरू उपलब्ध हुन सकेनन् ।
यस्तो छ अमेरिकी संसदको समितिले लेखेको पत्रः