
काठमाडौं, १५ मंसिर — मलेसियाको क्वालालम्पुरमा गत फेब्रुअरी महिनामा मारिएका किम जोङ–नामले भिएस र कीरा मार्ने औषधिविरुद्धको एन्टीडोट सँगै बोकेर हिँडेको एक टक्सिकोलोजिस्टले बताएकी छन् ।
उत्तर कोरियाका नेता किम जोङ–उनका सौतेनी दाइ किमलाई भिएक्स नर्भ एजेन्ट दिएर मारिएको थियो । उनले एट्रोपाइन नामक एन्टीडोट बोकेर हिँडेका थिए ।
भिएक्स प्रतिबन्ध लगाइएको रासायनिक हतियार हो र किमको हत्या यसैबाट भएको मानिएको छ ।
विषशास्त्री डा के शर्मिलाले अदालतलाई बताएअनुसार, किम मारिएको दिन उनको झोलामा एट्रोपाइनका एक दर्जन शीशाहरू थिए ।
इन्डोनेसियाकी सिती ऐस्याह र भियतनामकी दोआन थी हुओङलाई किमको अनुहारमा भिएक्स छर्केको आरोप छ । क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी १३ मा विमान कुर्ने क्रममा उनीमाथि आक्रमण भएको थियो ।
उनको मृत्यु लगभग दुई घन्टापछि भएको हो ।
दुवै महिलाले आरोप अस्वीकार गरेका छन् । आफूहरूले टीभीको कुनै रियालिटी शोमा जोक गरेको भन्ठानेको र किमलाई विष छर्केको आफूले थाहा नपाएको उनीहरूको जिकिर छ ।
किमको हत्यामा उत्तर कोरियाली सरकारको संलग्नता रहेको अनुमान लगाइएको थियो । तर प्योङयाङले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ ।
एजेन्सी