०७ असार २०८३, आइतबार

अमेरिकाको कुख्यात जेल 'अल्काट्राज' किन पुन: सञ्चालन गर्न खोज्दैछन् ट्रम्प ?

बैशाख २२, २०८२
काठमाडौं
अमेरिकाको कुख्यात जेल 'अल्काट्राज' किन पुन: सञ्चालन गर्न खोज्दैछन् ट्रम्प ?
Photo : Loren Elliott/Getty Via CNN

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अल्काट्राज कारागारलाई पुनः निर्माण गरी खोल्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल 'ट्रुथ सोशल'मार्फत आइतबार सार्वजनिक गरेको सन्देशमा संघीय जेल प्रशासन, न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीलाई 'अमेरिकाका सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरू'लाई राख्नका लागि अल्काट्राज पुनः सञ्चालन गर्न निर्देशन दिएको बताएका छन्।

'अब हामी अपराधी, गुण्डा र आफ्नो कर्तव्य पूरा गर्न डराउने न्यायाधीशहरूको बन्धक बन्ने छैनौं,' ट्रम्पले लेखेका छन्, 'अल्काट्राजको पुनः उद्घाटन कानून, व्यवस्था र न्यायको प्रतीक हुनेछ।'

तर, ह्वाइट हाउस फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो प्रस्ताव हाललाई केवल एक विचार मात्र भएको बताएका छन्।

उनले केही न्यायाधीशहरूलाई उग्र सोचका भन्दै आप्रवासीहरूमाथि अनिवार्य रूपमा ट्रायल हुनुपर्ने धारणा राख्ने बताए। 'त्यसको अर्थ लाखौं ट्रायल हुनुपर्ने हुन्छ,' उनले भने।

इतिहास र वर्तमान : अल्काट्राजको भूमिका

सान फ्रान्सिस्को तटस्थित टापुमा रहेको अल्काट्राज सन् १९६३ मा बन्द गरिएको थियो। संघीय कारागारको रूपमा झण्डै तीन दशकसम्म सञ्चालनमा रहेको यो जेल अत्यधिक खर्चिलो भएकाले बन्द गरिएको जेल प्रशासनको वेबसाइटमा उल्लेख छ। पुनर्निर्माण र मर्मतका लागि मात्र ३० देखि ५० लाख अमेरिकी डलरसम्म लाग्ने अनुमान गरिएको छ।

हाल यो टापु अमेरिकी राष्ट्रिय पार्क सेवाअन्तर्गत पर्यटकीय गन्तव्यका रूपमा सञ्चालनमा छ। हरेक वर्ष करिब १२ लाख पर्यटकले भ्रमण गर्ने अल्काट्राजलाई सन् १९८६ मा राष्ट्रिय ऐतिहासिक सम्पदाको सूचीमा राखिएको थियो।

क्यालिफोर्नियाकी डेमोक्र्याट सांसद तथा पूर्व सभामुख न्यान्सी पेलोसीले ट्रम्पको प्रस्तावलाई 'गम्भीर नभएको' भन्ने प्रतिक्रिया दिएकी छन्। 'अल्काट्राज साठी वर्षअघि नै बन्द भइसकेको संघीय जेल हो। अहिले यो अमेरिकाकै एक प्रमुख पर्यटकीय स्थल हो,' उनले आइतबार एक्स (ट्विटर) मा लेखिन्।

अल्काट्राज पुनः खोल्ने प्रस्ताव यसअघि ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि गरेका थिए। ट्रम्पले दोस्रो कार्यकालका प्रारम्भिक दिनहरूमा आप्रवासीहरूलाई क्युबाको ग्वान्तानामो बे पठाउने आदेश दिएपछि उनले एक्समा लेखेका थिए, 'अब यो साँच्चिकै राम्रो विचार हो, सायद हामीले अल्काट्राज पनि खोल्नुपर्ने हो कि ?'

कमेन्ट गर्नुहोस्