
सहसचिव पार्वती अर्याल बेइजिङका लागि आर्थिक कूटनीतिज्ञ (इकोनमिक मिनिस्टर) नियुक्त भएकी छिन् । परराष्ट्र मन्त्रालयले सोमबार (वैशाख २२ गते) अर्याललाई चार वर्षका लागि इकोनमिक मिनिस्टर नियुक्त गरेको हो ।
नेपाल–चीनबीच दुई पक्षीय लगानी, आर्थिक प्राविधिक सहायता, पर्यटन प्रवर्द्धन तथा व्यापार सहजीकरणको जिम्मेवारीसहित आर्थिक कूटनीतिज्ञको रूपमा नियुक्त गरिएको हो । अर्यालले चीनको राजधानी बेइजिङस्थित दूतावासमा रहेर दुई देशबीचको आर्थिक विषयको सहजीकरण गर्नेछिन् ।
भूकम्प र कोरोनाका समयमा बन्द भएर पूर्णरूपमा सञ्चालनमा आउन नसकेका नाका पूर्णरूपमा सञ्चालन गर्नुपर्ने लगायतका जिम्मेवारी आर्थिक कूटनीतिज्ञको हुनेछ ।
नेपाल र चीनबीच ६ वटा बन्दरगाह प्रयोग गर्ने गरी भएको समझदारी कार्यान्वयन हुन सकेको छैन । तेस्रो मुलुकबाट बस्तु आयात गरी पारवहन प्रक्रिया सहज बनाउनु पर्ने काम अहिलेसम्म हुन सकेको छैन ।
यस्तै नेपाल चीन–सीमा नाकामा भन्सार प्रशासन व्यवस्थापनलगायत आयात निर्यात सहजीकरणका लागि इकोनमिक मिनिस्टरले काम गर्नुपर्ने छ । मुस्ताङको कोरला नाकामा नेपालतर्फको संरचना निर्माणका लागि दुई पक्षीय समन्वयको काम पनि गर्नुपर्ने देखिन्छ ।
यस्तै हिल्सा, किमाथाङ्का र ओलङचुङगोलाका नाका व्यवस्थित गर्ने तथा हुम्ला, मुगु र सिन्धुपाल्चोकका नाकाबाट हुने परम्परागत आयात निर्यात हाल करिब बन्द अबस्थामा रहेकोमा सोको समेत सुचारु गर्ने जिम्मेवारी आर्थिक कूटनीतिज्ञको हुनेछ ।
संयुक्त अरब इमिरेट्स (यूएइ)को आवुधावीमा पहिलो श्रम सहचारीको रूपमा नेपाली कामदारको पक्षमा काम गरेकी अर्यालसँग उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेर चीन शाखा प्रमुखको रूपमा काम गरेको अनुभव छ ।
कनेक्टिीभिटीतर्फ चीनको आर्थिक सहयोगमा बन्ने काठमाडौंको चक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगञ्ज खण्डको विस्तार, स्याप्रुवेसी रसुवा सडक विस्तार र टोखा छहरे सुरुङमार्गको काम छिटो अगाडि बढाउन समाउने पर्नेसहजीकरण गर्नुपर्ने देखिन्छ ।
नेपालले चीनसँग गरेका सहमति तथा सम्झौता कार्यान्वयनको गति ढिलो भइरहेको अवस्थामा त्यसको गति बढाउने जिम्मेवारी पनि आर्थिक कूटनीतिज्ञको हुनेछ ।
पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएको झापाको औद्योगिक पार्क सञ्चालनमा ल्याउनेलगायत भौतिक पूर्वाधारका क्षेत्रमा बाँकी काम पूरा गर्ने दायित्व अर्यालको काँधमा आएको छ ।
२० वर्षअघि शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी अर्यालसँग श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतमा काम गरेको अनुभव छ । उनी लिखित प्रतिस्पर्धाबाटै शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवसम्म पुगेकी हुन् ।