राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरुरी रहेको बताए । उनले भने, 'संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्दछ, राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।'
राष्ट्रपति पौडेलले संविधानको यो भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले पेसालाई सेवा भावको दृष्टिकोणले हेर्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु नेपालकै लागि खुसीको विषय भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, 'नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको छ । चिकित्सक बिदेसिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले आवश्यक कदम चाल्नुपर्छ ।'