
प्रतिनिधि सभामा आज सांसद चन्दा चौधरीले आतंकवादविरुद्ध नेपालले स्पष्ट पक्ष लिनुपर्ने माग गरेकी छन्। संसदमा बोल्दै उनले पाकिस्तानको संस्थागत आतंकवाद र भारतको आत्मरक्षा अधिकारबारे स्पष्ट व्याख्या गर्दै नेपालले अब ‘रणनीतिक विवेकयुक्त सक्रियता’को बाटो लिनुपर्ने बताइन्।
चौधरीले पाकिस्तानलाई “आतंकवादको संरक्षक राष्ट्र” भन्दै ओसामा बिन लादेनको एबटाबादमा भएको उपस्थितिलाई उदाहरण दिँदै पाकिस्तानले आतंकी संगठनहरूलाई खुला संरक्षण दिँदै आएको आरोप लगाइन्।
भारतको कारबाहीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार वैध भन्दै उनले संयुक्त राष्ट्रसंघको चार्टरको अनुच्छेद ५१ मा आधारित आत्मरक्षाको अधिकारसम्बन्धी व्यवस्था उल्लेख गरिन्। “भारतको पूर्व-सक्रिय प्रतिउत्तर रणनीति दक्षिण एशियाको रणनीतिक सन्तुलनको पक्षमा केन्द्रित छ,” उनले भनिन्।
नेपालको ऐतिहासिक असंलग्न नीति आजको बदलिंदो विश्व सन्दर्भमा पुनः मूल्याङ्कनको खाँचो रहेको बताउँदै चौधरीले अब “तटस्थता र नैतिक अस्पष्टता” बीचको स्पष्ट विभाजन आवश्यक रहेको जनाइन्।
सांसद चौधरीले संसदलाई राष्ट्रको मौन दर्शक नभई स्पष्ट आवाजको रूपमा प्रस्तुत हुन आग्रह गरिन्।