
एनएमबि बैंक लिमिटेडको अगुवाइमा बज्र मादी जलविद्युत् आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
एनएमबि बैंक, कृषि विकास बैंक लिमिटेड तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।
यस आयोजनामा एनएमबि अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत् आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड रहने जानकारी गराइएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ ।
एनएमबि बैंकले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवर्द्धित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना विक्रम संवत् २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो ।
उक्त आयोजना एनएमबि बैंकको अगुवाइमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन २०२२ को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।