
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सपना देख्नेहरूको इच्छा कुनै पनि जेठ १५ गते पूरा नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले खुल्लमखुल्ला प्रणाली मास्नेको इच्छा कहिल्यै पूरा नहुने बताएका हुन् ।
‘मलाई आश्चर्य लाग्छ, अधिनायकवादी र निरंकुश प्रणाली हुँदा संविधान, कानूनको दुहाइ दिँदा माइक फुट्ने गरी कराउनुहुन्थ्यो । आज खुलेआम लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ । देशलाई प्रतिगमनमा लाने प्रचार गर्नुहुन्छ । के गरेको यो ?’, ओलीले भने, ‘जेठ १५ गते ? यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईंहरूका सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । यसमा जोड नगर्न आग्रह गर्न चाहन्छु । समयलाई चिनौं , समय अुनसार अगाडि बढौं ।’
देशलाई बंगलादेश र श्रीलंका बनाउने प्रचार भएको भन्दै ओलीले देश संविधान र कानूनबाहेक अन्य विकल्पबाट अगाडि नबढ्ने पनि ओलीले बताए ।
‘बंगलादेश बनाउँछु भन्नुहुन्छ । बंगलादेशमा राजा त फर्काएनन् त ? उहिलेको राजा थियो नि त ? बंगलादेशमा मात्रै होइन, श्रीलंकामा पनि त राजा फर्काएनन्’, ओलीले भने, ‘लोकतन्त्रभित्रको कुरा हो । लोकतन्त्र र संविधान, प्रणाली, शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र अनुरोध छ । यत्ति भन्न चाहन्छु देश संविधान र कानून अनुसार चल्छ । सबैले कानून संविधान अनुसार चल्न तयार हुनुपर्छ । तयार हुनुभएन भने संविधान कानून अनुसार हुन्छ ।’
प्रतिगमनका कुरा गरेर सिलिङमा टाउको ठोक्ने गरी कराउनुको कुनै अर्थ नरहेको भन्दै ओलीले देश र जनताप्रति जिम्मेवार बन्न आग्रह गरे ।