
सगरमाथा संवादको पहिलो संस्करणका लागि सहयोगस्वरूप भारतले १५ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।
नेपाल-भारत सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका ती सवारी साधन आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हस्तान्तरण गरेका हुन् ।
यी सवारीसाधन सगरमाथा संवादको पहिलो संस्करणलाई सहज बनाउन दिइएको भारतीय दूतावासले जनाएको छ । हस्तान्तरण समारोहमा राजदूत श्रीवास्तवले सवारी साधनले संवादको समयमा पाहुना र अधिकारीहरूको आवागमनलाई सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
परराष्ट्र मन्त्री राणाले संवादको आयोजनालाई सहजीकरण गर्न भारतको सहयोगको लागि कृतज्ञता व्यक्त गरिन् ।

उनले जलवायु परिवर्तन नेपालको मात्र नभएर यस क्षेत्रकै एक साझा चुनौतीका रूपमा रहेकाले यसको समाधानका लागि पनि सबैको आपसी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।

मे १६‐१८ मा आयोजित सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अब नेपाल सरकार विदेशी उच्चपदस्थ व्यक्तित्व तथा पाहुनाको स्वागतको प्रतीक्षामा रहेको उनले जानकारी दिइन् ।